यौन व्यवसायको आरोपमा पक्राउ परेकाको दाबी : कोठा भाडामा दिएका हौं, अरू थाहा छैन
बढ्दो बेरोजगारीको फाइदा उठाउँदै बनेपाका दुई गेष्ट हाउसका सञ्चालकले बालिका र महिलालाई थोरै रकममा काम लगाए । सोही अवस्थाको मौकामा उनीहरुलाई जर्बजस्ती यौन कार्यमा संलग्न गराएको अभियोगमा प्रहरीले ती गेष्ट हाउसका सञ्चालकलाई पक्रेर मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा अघि बढाएको छ । केही सञ्चालक र घटनामा संलग्नहरु फरार छन् । उनीहरुलाई पक्रन अदालतबाट पक्राउ आदेश लिइएको बताइएको छ ।
पीडितहरुले बेरोजगारीको फाइदा उठाउँदै होटलमा भाँडा माझ्ने तथा कुकको काम भन्दै ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको जाहेरी दिएका छन् । ‘म १४ वर्षकी भएँ । फागुन महिनादेखि घरबाट कामको खोजीमा निस्किएको थिएँ । फेसबुकबाट साथीको सम्पर्कमा पुगेँ । महिनाको ९ देखि १० हजार रुपैयाँ आउँछ । नियमित काम गरिरहेको अवस्थामा ग्राहकहरुले टिप्स पनि दिन्छन् भन्दै काममा लगाएर यौन धन्दामा संलग्न गराए,’ पीडित बालिकाले प्रहरी समक्ष बयानमा भनिन् ।
उनले आफूहरुलाई पाँच सय रुपैयाँ दिएर ग्राहकसँग १ हजार ५ सय लिने गरेको तथ्य पनि खोलेका छन् । यौन धन्दामा संलग्न नहुने बताउँदा होटल मालिकहरुले धम्क्याउने गरेको ती बालिकाले भनेकी छन् । उनीलगायत पाँच जनाको जाहेरीका आधारमा प्रहरीले होटल सञ्चालक र त्यसका साझेदारहरुलाई पक्राउ गरेको छ । पीडितमध्ये अधिकांशले कामको सिलसिलामा घर छाडेको, आर्थिक अवस्था कमजोर भएको, एउटा काम भनेर अर्कै काममा साथीहरुको माध्यमबाट लागेको, होटल सञ्चालकहरुले ग्राहकसँग धेरै पैसा लिएर आफूलाई थोरै रकम दिएको, पटक पटक त्यसो नगर्न आग्रह गर्दा नमानेको, होटल बाहेक अन्यत्र समेत रकम धेरै लिएर पठाउने गरेको बयान दिएका छन् ।
बनेपा नगरपालिका १० स्थित पुलबजारमा रहेको तेमाल गेष्ट हाउसका सञ्चालक मकवानपुरको बागमती गाउँपालिका ७ घर भई बनेपामा बस्दै आएका लालमान तामाङ, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ८ का २६ वर्षे श्याम लामा र २३ वर्षे सुमन लामा पक्राउ परेका छन् । होटल सञ्चालक भारतीय नागरिक एमडी सफ्राज, ठेगाना नखुलेका लाजिमा गुरुङ्ग, पासाङ लामा, एलिना र उनका साथी, सुजन लामा र माया गुरुङ समेतलाई पक्राउ गरेर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दावी लिई मुद्दा दायर गर्ने प्रहरीले बताएको छ ।
स्थानीय वडा नम्बर ८ मा रहेको लामा क्याफेमा यौन व्यवसाय सञ्चालन गरिरहेका रोशी गाउँपालिका ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाईइ मानव बेचविखन तथा ओसारपसार अभियोगमा अदालतमा पेश गरिएको छ । तीन जना महिलालाई यौनधन्दामा लगाएको अभियोगमा उनी क्याफेबाटै पक्राउ परेका थिए । अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएर अनुसन्धान गर्न आदेश दिएको छ ।
बनेपा बसपार्क नजिकैको उक्त क्याफेमा मैनालीले ग्राहकसँग १ हजार ५ सय रुपैयाँ लिएर पीडित महिलाहरुलाई सात सय ५० रुपैया दिएर यौन व्यवसायलाई निरन्तरता दिएका थिए । उक्त क्याफेमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म यौन धन्दा चल्ने गरेको स्थानीयले बताएका थिए ।
पछिल्लो समय होटल व्यवसायमा संकट र हरेक क्षेत्रमा देखिएको मन्दीका कारण व्यवसायीहरु पलायन भएका छन् । यसबाट रोजगारीसमेत गुम्ने अवस्था देखिएपछि महिला तथा बालबालिकालाई सहमतिमा वा जर्बजस्तीमा त्यस्तो कार्यमा लगाउने क्रम बढेको भन्दै प्रहरीकोमा उजुरी गर्नेहरुको संख्या बढेको हो । पक्राउ परेकाले भने जर्बजस्ती नभई ग्राहक र महिलाको सहमतिमा त्यस्तो कार्य भएकाले आफूले स्थान उपलब्ध गराएर भाडा मात्रै लिएको बयान दिएका छन् ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू