विद्यार्थी कुटेका शिक्षकले भने : हिर्काएकै हो, टाउकोमा लागेकाले गाह्रो भएको होला !
सुनसरीमा शिक्षकको कुटपिटबाट एक जना विद्यार्थी बिरामी परेका छन् ।
धरान–१७ स्थित ज्वालामुखी माविका विज्ञान विषयका शिक्षक महेशकुमार यादवको कुटपिटबाट कक्षा ८ मा अध्ययनरत रिसन जोगी बिरामी घाइते भएको बताइएको छ ।
विद्यालयभित्र पञ्जा लडाईं खेलेको आरोपमा शिक्षकले जोगीमाथि छाताको डण्डीले हिर्काएका थिए । टाउकोमा धेरै हिर्काएका कारण टाउको दुखेर उनी रातभरी सुत्न नसकेपछि उनलाई उपचारार्थ अस्पताल लगिएको अभिभावक सुष्मा जोगीले बताइन् ।
छोरालाई कुटेको विषयमा आफूले शिक्षकसँग सोधनी गर्ने क्रममा यादवले उल्टै थर्काएको उनको भनाई छ । शिक्षक यादवले आफूले विद्यार्थी कुटेको स्वीकारेका छन् । पञ्जा लडाइँ खेलेको देखेपछि आफूले कुटेको बताए । ‘खासमा मैले कुटेकै हो’, उनले भने, ‘टाउकोमा लागेको हुनाले अलि साह्रो भएको हुनसक्छ ।’
टिप्पणीहरू