अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद अरु सात वटा बाकस भेटियो
तस्करीको माध्यमबाट झण्डै एक क्विन्टल सुन बाहिरिएपछि आज दिउँसो राजश्व अनुसन्धान विभागको एक टोली एकाएक विमानस्थलको भन्सार कार्यालय पुगेर शंकास्पद थप बाकस नियन्त्रणमा लिएको छ । थप सुन भेटिनसक्ने आशंकामा विभागका महानिर्देशक नवराज ढुंगाना आफैं त्यहाँ पुगेका हुन् ।
भन्सारका अधिकृतलाई आवश्यक सहयोगको निम्ति निर्देशन दिएर राजश्वका कर्मचारीले सशस्त्र प्रहरीको सहयोगमा चेकजाँच थालेका थिए । दिउँसो साढे १ बजे भन्सार कार्यालय पुगेको राजश्व अनुसन्धान विभागको टोलीले थप सुन रहेको आशंकामा विशेष अपरेसन गरेको बताइएको छ ।
अस्ति बेलुकी हङकङबाट क्याथे प्यासिफिकको उडानमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको भनिएको सुन एकाएक हिजो दिउँसो बाहिरिएको थियो । भन्सारभित्रै त्यस्तै प्रकृतिका अरु पनि सुन हुनसक्ने आंशकासहित ढुंगानाको टोली आज त्यहाँ गएको हो ।
मोटरसाइकल र स्कुटरको ३२० थान ब्रेक सुसहितको तौल एक सय ५२ केजी पाइएको थियो । सोही क्रममा टोलीले आशंका गरिएका आठ बाकसलाई छुट्टै राखेको छ । ती बाकसमा राखिएका सामान मोबाइलका चार्जर भनिएतापनि अहिलेसम्म खोलेर हेरिएको छैन ।
ब्रेक सु आयात गर्ने कम्पनीका नाममा ल्याइएको भनिएका पाँच र अर्को एउटा कम्पनीको नाममा दुई बाकस गरी कूल सात बाकस सामानमा पनि सुन हुनसक्ने आशंका छ । पक्राउ परेका भन्सार एजेन्ट,चालक र कर्मचारीले यसअघि पनि यस्तै सामान २९ पटक कार्गो गरेर ल्याइएको बयान दिएको स्रोतको दाबी छ ।
टिप्पणीहरू