खुसुक्क छिराइएको सय केजी सुन राष्ट्र बैंकको ढुकुटीमा

खुसुक्क छिराइएको सय केजी सुन राष्ट्र बैंकको ढुकुटीमा

अस्ति राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो अवैध सुन नेपाल राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।  त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय,सिनामंगल बाहिरबाट बरामद गरिएको ब्रेक सुसहितको सुन आज दिउँसो राष्ट्र बैंक पुर्याइएको हो । 

उक्त सुन जोख्न र गाल्न सुरक्षाकर्मीसहित राजश्व अनुसन्धान विभागका कर्मचारीहरु बैंकको बबरमहलस्थित टक्सार महाशाखा पुगेका थिए । आठ वटा बाकसमा ४० वटाको दरले हालिएको ३२० थान ब्रेक सुलाई टक्सार महाशाखाको ढुकुटीमा जस्ताको तस्तै राखिएको छ । 

उक्त ब्रेक सुलाई गालेर आजै जोख्ने तयारी गरिएको चर्चावारे बैंकका एक जना अधिकारीले भने, ‘राजश्व अनुसन्धान विभागले आवश्यक प्रक्रिया पूरा गरेपछि हामीलाई पगाल्न र जोख्न अनुरोध गर्छ ।  बल्ल त्यसलाई आगोको भट्टीमा हाल्छौं । यो काम गर्न अझै केही दिन लाग्छ,तत्काल यो काम हुन सम्भव छैन ।’

हङकङबाट सवारी साधनको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको भनिएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागको टोलीले हिजो नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू