प्रेस चौतारी अध्यक्षविरुद्ध साइबर ब्युरोमा उजुरी, गृहमन्त्रीले लाल आतंक फैलाएको आरोप
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नतामा भन्सारबाट तस्करहरुले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा स्टाटस लेखेका एमालेसम्बद्ध प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध उजुरी परेको छ ।
गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा आज उजुरी दिएका हुन् । बस्नेतले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
आफूविरुद्ध उजुरी परेपछि अध्यक्ष बस्नेतले साइबर क्राइम प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । गृहमन्त्रीलाई खुला चुनौती भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’ फेसबुकमा लेखेकै कारण बस्नेत यदाकदा विवादमा पर्ने गरेका छन् ।
सोही विषयमा चौतारी निकट अर्का पत्रकार रामेश्वर कार्कीले साइबर ब्युरो देखाएर आतंकित पार्ने प्रयत्न गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शंकास्पद गतिविधिको सूचना सामाजिक सञ्जालमा सार्वजनिक गर्दैमा र समाचार लेखेकै भरमा साइबर ब्युरो देखाएर आतंकित पार्ने प्रयत्न गर्ने हो भने यो लाल आतंक कदापि संभव छैन । बेकारमा नारायणकाजीले आफ्नो कद घटाएका छन् । यो हतास मानसिकताले पनि शंका बढाएको छ । तल्ला तहका कर्मचारी पक्राउ गरेर मात्रै यो केश रोकिनुहुन्न । कानून सबैलाई बराबरी हुनुपर्छ । ठुला माछा को को हुन् गहन छानवीन गरेर सत्यतथ्य सार्वजकि होस् ।’
टिप्पणीहरू