संसारका हरेक युद्धको पीडा महिलाले नै भोग्नुपर्छ ?

संसारका हरेक युद्धको पीडा महिलाले नै भोग्नुपर्छ ?

भारतीय राज्य मणिपुरमा दुई समुदाय मैतेई र कुकीबीचको हिंसात्मक झडप तीन महिनादेखि राज्यभर कायम छ । गत ’मे ३’ देखि मैतेई (उपत्यकाको बाहुल्य समुदाय) र कुकी आदिवासी (पहाडी बहुल समुदाय) बीच हिंसा भड्किएको हो ।

द्वन्द्वका कारण हालसम्म १४४ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

मणिपुर कहाँ छ ? त्यहाँ को बस्छन् ?

मणिपुर भारतको पूर्वोत्तरमा अवस्थित एउटा राज्य हो । छेउतिरको द्वन्द्वग्रस्त देश म्यान्मारसँग सटेको छ, मणिपुर । त्यहाँ अनुमानित ३३ लाख जनसंख्या बसोबास गर्छन् ।

मणिपुरमा तीन समुदाय छन् : मैतेई, कुकी र नागा । मैतेईहरू प्रायः हिन्दू हुन् । केही मैतेई मुस्लिमसमेत छन् । कुकी र नागाहरू सबै इसाइ धर्मावलम्बी हुन् ।

३३ लाखमध्ये आधाभन्दा धेरै मैतेई समुदायका छन् । भारतेली–नेपालीहरूका अनुसार मणिपुरमा करिब ४३ प्रतिशत अल्पसंख्यक मानिने कुकी र नागा समुदायका मानिसको बसोबास छ ।

राजनीतिक प्रतिनिधित्वको रुपमा मणिपुरका कुल ६० विधायकमध्ये ४० जना विधायक मैतेई समुदायका छन् । बाँकी २० जनाले कुकी र नागा आदिवासीबाट प्रतिनिधित्व गर्छन् ।

किन मच्चियो साम्प्रदायिक हिंसा ?

मैतेई समुदायले आफूलाई पनि आदिवासीको दर्जा दिनुपर्ने माग गर्दै आएका थिए । उनीहरूले यसबारे मणिपुर उच्च अदालतमा निवेदन दायर गरेका हुन् ।

उच्च अदालतले उपत्यकाको बाहुल्य समुदाय मैतेईलाई पनि आदिवासीको हैसियतको आदेश दियो । त्यो आदेशबाट पहाडी बहुल समुदाय कुकी आदिवासीहरू बेखुशी देखिए ।

अदालतको आदेशले अब मैतेईहरूलाई पहाडतिर धकेलिदियो । आदिवासी हैसियतका कुकी र नागाहरूले उपत्यकामा जग्गा किन्न सक्छन् । तर मैतेईहरूले पहाडी भेगमा जग्गा किन्न सक्दैनथे । किनकि उनीहरू आदिवासी थिएनन् ।

अदालतले मैतेईहरूलाई आदिवासीको हैसियत दिएपछि ’पहाड सर्ने डर’ ले कुकीहरू अत्तालिएका छन् । मैतेईलाई आदिवासीको दर्जा दिएकोमा विरोधमा कुकीहरु छन् ।

मणिपुरको १० प्रतिशत जमिनमा मैतेई समुदायको प्रभुत्व छ । यो समुदाय उपत्यकामा बसोबास गर्दछ । बाँकी ९० प्रतिशत पहाडी भेगमा राज्यबाट मान्यताप्राप्त कुकी र नागा आदिवासीहरूसँगै बसोबास गर्छन् ।

पहाड र उपत्यका अर्थात् एकातिर मैतेई र अर्कातिर कुकी–नागाबीचको विवाद निकै पुरानो र संवेदनशील हुँँदै आएको छ । अहिले भड्किएको साम्प्रदायिक हिंसाको जग ’पहाडी जमिन’ र अदालतको आदेशपछि सरकार र समाजमा मैतेईहरूको बढ्नसक्ने बलियो प्रभावको डर हो ।

पर्दा पछाडिको अर्काे खेल !

मणिपुर हिंसाका अनेकौँ तर्क छन् । कुकीहरू पहाडमा बस्छन् । र, अपराधिक गतिविधि र लागूऔषधको उत्पादन र प्रयोगमा रमाइरहेको आरोप छ ।

मैतेई समुदाय नेतृत्वको राज्य सरकारले चलाएको लागूऔषधविरुद्धको युद्ध कुकी समुदायलाई उखेल्ने बहाना ठान्छन्, उनीहरू । कुकीलाई राज्य सरकारको पछिल्लो रबैया मन परेको छैन । अर्काेतर्फ, म्यान्मारबाट अवैध आप्रवासनले पनि तनाव थपेको छ । बढ्दो जनसंख्याका कारण भूउपयोगमा दबाब परेको छ ।

मैतेई, कुकी र नागाहरू विवादास्पद मातृभूमिको माग र धार्मिक भिन्नतालाई लिएर दशकौंदेखि एकअर्कासँग लड्दै आएका छन् । र, यी सबै भारतीय सुरक्षा बलहरूसँग भिड्दै आएका हुन् । तर, अहिलेको लडाइँ पूर्णतया राज्यभित्रको मैतेई र कुकी समुदायबीचको हो ।

अहिलेको द्वन्द्व धर्म र राजनीतिमा होइन, जातीयतामा लुकेको देखिन्छ । 

के होला अब ?

मणिपुरको साम्प्रदायिक हिंसा डरलाग्दो मोडमा छ । दुबैतिरका सर्वसाधारण भागिरहेका छन् । भाग्दा–भाग्दै मरिरहेका पनि छन् । हालसम्म झण्डै डेढ सय जनाको मृत्यु र चार सय जना घाइते भएका छन् ।

भारतीय केन्द्र सरकार र राज्य सरकारले हिंसा रोक्न सैनिक, अर्धसैनिक बल र राज्य–प्रहरी खटाएको छ । चर्किरहेको हिंसाभित्र बस्न नसकेपछि ६० हजारभन्दा बढी मणिपुरेहरूले घर छाडेको बताइन्छ । 
झडपका क्रममा दुवै समुदायले विभिन्न ठाउँमा तोडफोड गरेका छन् । प्रहरी चौकीबाट हतियारसमेत लुटपाट गरेका छन् । हिंसात्मक झडपका क्रममा सयौं गिर्जाघर र एक दर्जनभन्दा बढी मन्दिर पनि तोडिएका छन् । र, धेरै गाउँ जलिरहेका छन्, घर भत्काइएको छ ।

मणिपुरमा बाँच्नसमेत मुश्किलको अवस्था सिर्जना भएका खबर आउन थालेका छन् । महिला र बालबालिकाहरू भोकभोकै भागिरहेका छन् । विद्यालयमा ताला लगाइएको छ । बजार सुनसान छ । गोठमा बाँधिएका गाईवस्तु भोकै छन् ।

खाल्डोमा दन्किएको आगोले भारत जलाउँदैछ । मनसुनको समयमा खेतबारी उजाड छ । सडक रगतले लतपतिएको छ । जताततै आगो दन्किरहेको छ ।

मणिपुरमा पिल्सिएका महिलाहरू

दुई महिलालाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको एउटा भिडियोले संसार हल्लाइरहेको छ । ’यौन हिंसा भएको भाइरल भिडियो’ पछि नेपाली र भारतीयहरूले आ–आफ्नो प्रतिक्रिया दिँदै आक्रोश व्यक्त गरेका छन् ।

मणिपुमा सल्किएको दंगा झन् भड्किँदै गएको अनुमान लगाउन सकिन्छ । दुई महिनाअघि खिचिएको तर एक साता अघिमात्र भाइरल भएको त्यो भिडियोले मानिसलाई थप आक्रोशित बनाएको छ । 

एकहुल अराजक मानिसहरू चेलीलाई नाङ्गै बनाएर, जुलुस निकालेर खुलेआम प्रदर्शन गराउँदै हिँडिरहेका छन् । यो सबै देख्दा र सुन्दा सबैलाई रिस उठ्नु स्वाभाविक हो । लाग्छ– संसारभरका हरेक घटना, दुर्घटना, युद्ध र झगडाको पीडा महिलाहरूले भोग्नुपर्छ ? मणिपुरको त्यो भिडियो हेर्दा भारतीय समाजलाई लाज लाग्छ । अनि आफैलाई दिक्क लाग्छ ।

मणिपुरको आगो कहिले निभ्छ भन्ने चिन्ता कायमै छ । लाग्छ, देशको कुनै सकारात्मक शक्तिले मणिपुर समस्याको समाधान छिट्टै खोज्नेछ र त्यहाँ फेरि शान्ति आउनेछ ।

(समाचार एजेन्सीहरुको सहयोगमा)

टिप्पणीहरू