विदेश पठाउने भन्दै ठग्नेहरुमाथि थालियो सूक्ष्म अनुसन्धान

विदेश पठाउने भन्दै ठग्नेहरुमाथि थालियो सूक्ष्म अनुसन्धान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेलाई आकर्षक सेवा सुविधाको प्रलोभन देखाएर ठगी गर्नेमाथि सुक्ष्म अनुसन्धान थालेको छ । माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायत युरोपेली मुलुकमा रोजगारीमा पठाइदिने बहानामा लाखौं रुपैयाँ ठग्दै आएकामाथि मन्त्रालयले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

मन्त्रालयल नेपाल सरकारले रोजगारीका लागि अनुमति प्रदान गरेको मुलुकमा तीन प्रकारको कानुनी प्रक्रियाबाट मात्रै श्रम स्वीकृति प्रदान गरिने स्पष्ट पारेको छ । जसमा जीटुजी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त संस्था र व्यक्तिगत रुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान छ । 

‘आकर्षक सेवासुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकहरुमा रोजगारी दिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको सम्बन्धमा मन्त्रालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकहरुमा तीन प्रकारको कानुनी प्रक्रियाबाट श्रम स्वीकृति प्रदान गरिनेछ ।’

त्यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीमा जानेलाई वैदेशिक रोजगारी विभागमा सम्पर्क गरी यकिन गरेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । आफू जान चाहेको मुलुक, कामको विवरण, तलब, सेवासुविधा, आवश्यक सीप तालिम, रोजगारदाताहरुले तोकेको सेवाशुल्क, फ्री टिकट र फ्री भीसालगायतका विषयमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं उपस्थित भई जानकारी लिन पनि सुसूचित गराइएको छ । 

साथै, असम्बन्धित व्यक्ति र संस्थाको अनुचित प्रभावमा नपर्न आग्रह गरेको छ । कोही–कसैले ठगी गर्ने उद्देश्यले प्रभावमा पारेमा तत्काल श्रम कल सेन्टर टोल फ्री नम्बर ११४१, नजिकको श्रम तथा रोजगार कार्यालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयलगायतका निकायमा सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू