कोशीमा नयाँ सरकार गठनको प्रक्रियासँगै विभिन्न विकल्पको चर्चा

कोशीमा नयाँ सरकार गठनको प्रक्रियासँगै विभिन्न विकल्पको चर्चा

गणेश लम्साल 

सर्वोच्च अदालतले साउन ११ गते परमादेश मार्फत् मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेपछि कोशी प्रदेश सरकारविहीनको अवस्थामा पुगेको छ । अदालतको फैसलापछि काम चलाउ मुख्यमन्त्री दाबी गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की विराटनगर पुगेका थिए । 

यद्यपी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अदालतले पदमुक्त गरेका थापा नै मुख्यमन्त्री रहेको नेमप्लेट झुण्डाइएको छ । प्रदेश सरकारको वेबसाइटमा पनि थापाकै नाम र फोटो छ । तर मुख्यमन्त्री कार्यालयमा उनी हाजिर भएका छैनन् । थापा काठमाडौंमा रहेकाले साउन १६ गतेसम्म कोशी प्रदेश सरकारविहीको अवस्थामा रहने पक्का छ । 

प्रदेश प्रमुखले पर्सिसम्म दिएको समयसीमाभित्र दलहरुले बहुमत पुर्याएर दाबी पेश गरिएमा कोशीले १७ गतेभित्र नयाँ मुख्यमन्त्री र मन्त्रीहरु पाउने छ । कोशीमा रहेका राजनीतिक दलहरुको सांसद संख्या पेचिलो अवस्थामा छ । कसैको पनि बहुमत नरहेको र दुई गठबन्धन कायम छन् । दुवैतर्फ ४६ जना सांसद छन् । बहुमतको निम्ति ४७ जना सांसद आवश्यक पर्छ । 

कोशीमा हाल एउटा गठबन्धनमा रहेको एमालेको ४० र राप्रपाका छ जना सांसद छन् । अर्को गठबन्धनमा काँग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको चार र जनता समाजवादीको एक जना सांसद छन् ।  

यसैले काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर भएपनि कोशी प्रदेशमा आफूहरुकै नेतृत्वमा बहुमतको सरकार गठन गर्ने तयारी थालेका छन् । तर माओवादी केन्द्रका सांसद रहेका सभामुखले राजीनामा दिएपनि कोशीमा नयाँ गठन हुने सरकारको आयु पुनः एक महिना मात्र हुनसक्ने अवस्था छ । 

राजनीतिक विश्लेषकहरुका अनुसार सभामुख गौतमलाई राजीनामा दिन लगाएमा अर्को संकट आइलाग्ने छ । त्यसो गरेमा उपसभामुख सृजना दनुवारलाई पनि एमालेले राजीनामा गराउने सम्भावना रहन्छ । त्यसपछि प्रदेशसभा सञ्चालन काँग्रेसका जेष्ठ सांसद गयानन्द मण्डलले सञ्चालन  गनुपर्ने हुन्छ । त्यसोगर्दा पनि नयाँ गठन हुने सरकारले बहुमत पाउन कठिन हुनेछ । 

मण्डलले सभा सञ्चालन गरेमा एमालेले आफ्ना चारदेखि पाँच जना जेष्ठ सदस्यलाई सभामा अनुपस्थित गराउने छ । त्यसपछि सभामुख बन्ने सांसदले निर्णायक मत दिन पाउने छैनन् । संविधान र नियमावलीअनुसार सभामुखले मत बराबरी भएमा मात्र निर्णायक मत दिन पाउँछन् । बरावरी नभएमा निर्णायक मत दिनबाट वञ्चित हुन्छन् । 

त्यस्तो अवस्थमा पुनः काँग्रेस नेतृत्वको गठबन्धन सरकार ढलेमा एमालेले ठूलो दलको नाताले सरकार गठनको पहल थाल्नेछ । उक्त सरकारले पनि बहुमत नपाए स्वतन्त्र व्यक्ति मार्फत् सरकार गठनको प्रयास हुनेछ । त्यसपछि कोशीको राजनीति मध्यावधि निर्वाचनतिर स्वतः जानेछ । जुन भर्खरै संस्थागत हुँदै गरेको संघीयता कार्यान्वयनका लागि निकै महँगो साबित हुनेछ ।
 
तर काँग्रेस माओवादी गठबन्धनका नेताहरुले जेष्ठ सदस्य मण्डललाई मन्त्री बनाइने र सभा पनि जेष्ठ सदस्यको आधारमा सञ्चालन गराउन लगाउने नयाँ उपाय बताएका छन् । त्यसो भएमा उनले सांसदकै हैसियतले मत दिन पाउने र निर्णायक मत दिनुपर्ने अवस्था नै नआउने दाबी उनीहरुको छ । त्यसो गरेमा एमालेले प्रदेश सभा नै सञ्चालन गर्न नदिने रणनीति अख्तियार गर्नेछ । त्यसपछि कोशीको राजनीति झन् गिजोलिने पक्का  छ । 
 
कसरी हुन्छ कोशीमा सत्ताको स्थायी समाधान ?

कोशी प्रदेशमा सत्ता राजनीतिको स्थायी समाधानका विभिन्न विकल्प अघि सारिएको छ । पहिलो विकल्पको रुपमा मिलिजुली सर्वदलीय सरकार रहेको छ । अर्को राप्रपालाई गठबन्धनमा सहभागी गराउने वा मुख्यमन्त्री दिएर सरकार गठन गर्ने, तेस्रोमा काँग्रेस माओवादीसहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने र चौथोमा मध्यावधी निर्वाचन गराउने भनिएको छ ।

पहिलो विकल्पको चर्चामा कोशीमा तत्काल मिलिजुली सरकारको सम्भावना छैन । केन्द्रीय शीर्ष नेताहरु यसका लागि तयार देखिएका छैनन् । दोस्रो विकल्पको चर्र्चा राप्रपा कोशीको गठबन्धनमा आउने सम्भावना देखिँदैन । हाल संघीय सरकारमा राप्रपा सत्ता गठबन्धनमा जाने छाँटकाँट नदेखिएकाले कोशीमा पनि सम्भावना कम भएको हो । 

कोशीमा राप्रपालाई मुख्यमन्त्री दिएर सरकार बनाउने कुनै सम्भवना नरहेको बताइन्छ  । मूलतः संघीयता र गणतन्त्र विरोधी दलको नेतृत्वमा माओवादीलगायत दलहरुको सरकारमा सहभागी नहुने धारणा देखिन्छ ।
 
काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन भत्किनसक्ने सम्भावना बढेको छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएमा कुल सांसद संख्या ५० पुग्नेछ । त्यसपछि एमाले, राप्रपा र एकीकृत समाजवादीको सुविधाजनक बहुमतको सरकार बन्ने सम्भावना प्रवल हुनेछ ।

एक जना मात्र सांसद रहेको जसपा बाहिरिएमा सांसद संख्या ४७ पुग्नेछ । त्यसपछि एमाले, राप्रपा र जसपाको झिनो बहुमतको सरकार बन्ने अवस्था पनि देखिन्छ । अहिलेको गठबन्धन भत्काएर काँग्रेस र एमाले वा एमाले माओवादीको संयुक्त सरकार बनाए मात्र कोशीमा सरकार दीगो हुनेछ । यस्तो अवस्थामा मात्र सरकार पूर्ण कार्यकाल चल्न सक्नेछ ।   

यसैले हालको केन्द्रीय राजनीतिको अवस्थाले गर्दा कोशीमा काँग्रेस माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन भत्किहाल्ने अवस्था पनि छैन । कोशीमा माओवादीले एमालेसँग मिलेर सरकार बनाएमा काँग्रेस रुष्ट हुनेछ । त्यसपछि संघमा प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने निश्चित छ । 

सभामुखलाई राजीनामा नगराई काँग्रेस र एमाले मिलेर कोशीमा सरकार बनाइएको अवस्थामा माओवादी केन्द्र विपक्षीको हैसियतमा बस्नुपर्ने हुुन्छ । चौथो विकल्पको चर्चामा दलहरु तत्काल मध्यावधीमा जान तयार छैनन् । कोशीको नामाकरणको विवाद चर्केको अवस्थामा निर्वाचन भएमा राजनीतिक दलहरुलाई प्रत्युत्पादक हुनेछ ।

टिप्पणीहरू