युवाको कुराले कांग्रेस महामन्त्री र एमाले उपमहासचिवबीच बाझाबाझ
नम्र र भद्र व्यक्तित्वको चिनारी बनाएका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र रुखो बोलीका कारण बेलाबेला पार्टीभित्रै आलोचना खेप्ने एमाले उपमहासचिव विष्णु रिमालबीच पार्टीमा युवाको भूमिकालाई लिएर वादबिबाद भएको छ ।
महामन्त्री शर्माले आफ्नो पार्टीमा सभापति शेरबहादुर देउवाविरुद्ध गगन थापाले संसदीय दलमा चुनौती दिएर युवाहरुको हस्तक्षेपकारी भूमिका बढाउन सफल भएपनि एमालेमा त्यो अवस्था नरहेको धारणा सार्वजनिक गरेपछि रिमाल जवाफमा उत्रिए । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले ‘एमाले युवा नेताहरूको अवस्था कुनामा बसेर दुनामा खाने’ जस्तो रहेको टिप्पणी गरेका थिए ।
त्यसको जवाफमा एमाले अध्यक्ष ओलीका विश्वासपात्रसमेत भनिएका रिमालले सामाजिक सञ्जालबाट कटाक्षपूर्ण जवाफ फर्काए । एमालेको फिक्री नगर्न सुझाएका उनले कांग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्नसक्ने पार्टी बनाउन चुनौतीसमेत दिएका छन् ।
शर्माले भनेका थिए, 'एमालेको एक जना हाम्रै उमेरको कमरेड साथीलाई मैले सोधें, 'के छ कमरेड, हाम्रो संसदीय दलमा मुस्कुराउँदै गगन थापाले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभयो नि,त्यता पनि औंलो ठड्याएर अध्यक्ष कमरेड भन्ने हिम्मत देखाउनु पर्यो । तर, उहाँले भन्नुभयो, कांग्रेसको जस्तो हाम्रोमा कहाँ हुनु ? हाम्रोमा त कुनामा बसेर दुनामा खाने अवस्था छ ।'
पार्टीमा युवाहरुले अध्यक्ष ओलीलाई चुनौती दिन नसकेको आरोप लागेपछि आक्रोशित सुनिएका रिमालले जवाफमा लेखेका छन्, 'एमालेका "ठिटाहरु" कुनामा बसुन् कि छेउमा - दुनामा खाउन् कि पातमा, किन फिक्री गर्नुहुन्छ ! काङ्ग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बनाउनुस् न भै गयो नि; एमाले कस्तो बनाउने हाम्रै जिम्मामा रहन दिनुस् ।
उनले कांग्रेसका महामन्त्री 'नुन खाएको कुखुरा जस्तो' भन्ने इमेज हटाउन पनि शर्मालाई सुझाव दिए ।' एमालेले आफ्ना युवाहरूको "पर्फर्मेन्स" परिक्षण गर्न यहाँलाई "जाँचकी" राखेको पनि छैन । एमाले जस्तो बन्ला,कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला !', रिमालको कडा जवाफ छ ।
टिप्पणीहरू