‘साङ्ग्रिला बैंकले हामी गरिबको उठिबास लगायो’

‘साङ्ग्रिला बैंकले हामी गरिबको उठिबास लगायो’

बैंकले ऋण तिर्ने मौका नदिई धितो लिलाम गरेर बिचल्ली बनाएको भन्दै मोरङका एक वृद्धले न्यायालय गुहारेका छन् । ऋण चुक्ता गर्न पुगेका बुढीगंगा गाउँपालिका ४ का ६३ वर्षीय त्राचन खवासले आफ्नो धितो राखिएको जग्गा फिर्ताको माग गर्दै उच्च अदालत, विराटनगरमा रिट निवेदन दर्ता गराएका हुन् ।

उनका छोराले सोही पालिकाको टंकीसिनवारी चोकमा रहेको साँग्रिला विकास बैंकको शाखाबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण तिर्न जाँदा बैंकले धितो लिलाम भइसकेको जनाएपछि उनी झसङ्ग भएका हुन् । कर्जाभन्दा धेरै बढीको धितो बैंकले बिना जानकारी लिलाम गरेपछि आफू अदालत जान बाध्य भएको उनले बताए ।

खवासका अनुसार २०७७ साउन ५ गते जेठा छोरा शंकरले दुई कठ्ठा जग्गा धितो राखेर बैंकबाट १४ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ ऋण लिएका थिए । बुबाको नाममा रहेको जग्गा राखेर ऋण लिएका शंकरको २०७८ मंसिर १८ गते मृत्यु भयो । आफूहरुले कुनै ऋण नलिएको भन्दै बुहारी सुशिलाले छोराको मृत्युपछि ब्याज नतिरेको उनको भनाइ छ । 

सुशीलाले उल्टै जिल्ला अदालत, मोरङमा रजिष्ट्रेशन बदरको माग गर्दै मुद्दा दर्ता गरिन् । उक्त मागलाई अदालतले बदर गरिदिएको छ । त्यसपछि बैंकले १५ दिनको समय दिएर पत्रिमा सूचना प्रकाशित गरेको बताइन्छ । तोकिएको समयभित्र भुक्तानी नपाएपछि बैंकले लिलामको सूचना निकालेको हो ।

आफ्नो जग्गा लिलाम हुन लागेको जानकारी अन्तिम समयमा पाएका उनी ३० लाख रुपैयाँ लिएर बैैंक पुगे । तर, बैंकले समयसीमा नाघिसकेको र जग्गा लिलाम भइसकेको जनाउँदै पैसा बुझ्न अस्वीकार गरेको खवासको दाबी छ । 

गत जेठ ११ गते सन्तोष घिमिरेको नाममा उनको जग्गा नामसारी भएको हो । मालपोत कार्यालय, मोरङले साङ्ग्रिला बैंकको अनुरोधमा उनको जग्गाको रजिष्ट्रेशन पास गरिदिएपछि त्राचन बिचल्लीमा परेका हुन् ।

‘सूचना पाएपछि अन्तिम दिन ऋणको साँवाब्याजसहित भुक्ततानी गर्न बैकमा पुगेका थियौं । तर, बैकका ऋण अधिकृत तथा निमित्त शाखा प्रमुख निरज भट्टराईले पैसा बुझ्न नमानी ऋणीको सर्वोत्तम हितविपरीत काम गरे । हामी गरिबको उठिबास लगाइयो । त्यसैले हामी न्याय खोज्दै अदालत आएका हौं’, उनले भने । 

यता, बैंकका ऋण अधिकृत भट्टराईले सबै कानुनी प्रक्रिया पुर्याएर धितो लिलाम गरेको दाबी गरेका छन् । ‘हामीले बारम्बार ऋण तिर्न ताकेता गरेका हौं, लिलामको सूचना पनि प्रकाशित गर्यौं तर, उहाँहरु आउनुभएन् । धितो लिलामी भइसकेपछि आएर बैंकले के गर्न सक्छ ?’, उनले भने ।

टिप्पणीहरू