टोपबहादुर निलम्बनको खबर सुनाउने बैठक बस्दै नबसी स्थगित

टोपबहादुर निलम्बनको खबर सुनाउने बैठक बस्दै नबसी स्थगित

 आजका बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद सचिवालयले सूचना निकालेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै आएको छ । त्यसमा सत्तापक्ष तयार भएको छैन ।

यसअघि १० साउनको बैठकमा पनि एमालेले सोही माग राखेर बैठक अवरुद्ध गरेको थियो । संसद्को गत्यावरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो र आज छलफल भएपनि सहमति जुट्न सकेन । त्यसपछि सरकारको आग्रहमा सभामुखले आजको बैठक भोलिसम्म सार्नुभएको बताइएको छ ।

 

आजको बैठकमा विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, नक्कली भुटानी शरणार्थी काण्डमा जेल परेका एमाले सांसद टोपबहादुर रायमाझीको निलम्बन, बाधा अड्काउ फुकाउ पेशलगायतका कार्यसूची तय थियो।

टिप्पणीहरू