धर्ना बसेकी महिलालाई मेयरले थुनाएपछि स्थानीयको विरोध

धर्ना बसेकी महिलालाई मेयरले थुनाएपछि स्थानीयको विरोध
सुन्नुहोस्

संस्थागत कलेजलाई बजेट नदिन माग गर्दै विराटनगर महानगरपालिकाको मूलगेटअगाडि शान्तिपूर्ण धर्नामा बसेकी महिलालाई मेयरले पक्राउ गराएका छन् । मेयर नागेश कोइरालाले अभद्र व्यवहारको आरोप लगाएपछि उनलाई प्रहरीले पक्रेको हो ।

 गत सोमबार धर्ना बसेकै अवस्थामा पक्राउ गरिएकी विराटनगर- ५ की ५२ वर्षीया ईन्दिरा चापागाईं थप सात दिन प्रहरी हिरासतमा बस्ने भएकी छिन् । विराटनगरको बरगाछीस्थित गोग्राह माध्यमिक विद्यालयको पूर्वसञ्चालक समितिकी अध्यक्ष चापागाईंले सोही विद्यालयमा गोग्राह नामको निजी कलेज सञ्चालन गरेर महानगरबाट बजेट ल्याएर खाइरहेको आरोप लगाएकी छिन् ।

महानगरले कि सामुदायिक भनेर कलेजलाई दिँइदै आएको बजेट बन्द गर्नुपर्ने अन्यथा सो कलेजलाई सामुदायिक बनाउनुपर्ने उनको माग छ । महानगर र जिल्ला प्रशासन कार्यालय, मोरङ्गमा समेत यो विषय उठान गर्दै निवेदन दर्ता गराएकी चापागाईं आफ्नो माग सुनुवाई नभएपछि धर्ना बसेकी हुन् ।   

उनका अनुसार स्नातक तहमा बिएड पठनपाठनका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिइएको थियो । आफ्नो पालोमा सो कलेज विद्यालय मातहत नै रहेको र कलेजको आम्दानी सबै विद्यालय कोषमा जम्मा हुने गरेको उनको भनाइ छ । तर, सञ्चालन समिति फेरिएपछि उक्त कलेजलाई निजी बनाएर अलग्गै सञ्चालन गर्न थालिएको चापागाईंले बताएकी छिन् । 

आफूलाई सुशासन अभियन्ता बताउँदै आएकी उनले यसको चर्को विरोध गरेकी थिइन् । सामुदायिक कलेजलाई निजीकरण गरेर सञ्चालक समितिले विद्यार्थी र महानगरलाई लुट्दै आएको उनको आरोप छ । शैक्षिक संस्थामा देखिएको विकृति सुधारको माग गर्दै धर्नामा बसेकी उनलाई मेयर कोइरालाले थुनाएपछि स्थानीयले विरोध जनाएका छन् । 

चापागाईंले आफूलाई जथाभावी गाली गर्दै थुकेको मेयर कोइरालाको दाबी छ । चापागाईं गत सोमबारदेखि जिल्ला प्रहरी कार्यालय, मोरङ्गको हिरासतमा छिन् । आफूमाथि झुठ्ठा आरोप लगाएर फसाउन खोजेको भन्दै उनले हिरासतमै विरोध गरिरहेकी छिन् । महानगरको गेटअगाडि धर्ना बस्दा आफूले फुटपाथसमेत अवरोध नगरेको उनले बताइन् । 

भ्रष्टाचार र अनियमितताको विरोधमा आवाज उठाउने चापागाईंलाई केहीले ‘दिमाग फुस्केकी आईमाई’ पनि भन्ने गरेका छन् । उनी नेपालको झण्डा बोकेर कहिले जिल्ला अदालत त कहिले प्रशासनअगाडि उभिरहेकी हुन्छिन् । कविको समेत पहिचान बनाएकी उनी समाजसेवा गर्न रुचाउँछिन् ।

चापागाईंका श्रीमान अशोक र छोरी अदितीले भ्रष्टाचारविरुद्ध संघर्ष गर्दा मानसिक अवस्था ठीक नभएको आरोप लगाइएको गुनासो गरे । महानगर र प्रशासनमार्फत उनको मानसिक रोगको चेकजाँच गर्नुपर्ने र चिकित्सकले प्रमाणित गरेमा निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने परिवारको माग छ । 

जायज माग राखेर शान्तिपूर्ण धर्ना बसेकी महिलालाई पहुँच र पावरको आडमा थुनाउनु गलत भएको भन्दै विराटनगरमा व्यापक आलोचना हुन थालेको छ । यद्यपि, कुनै भ्रष्टाचार विरोधी र सुशासनका पक्षधर भने उनको पक्षमा बोलेका छैनन् । डेरामा बस्दै आएकी चापागाईंको श्रीमान निजी स्कुलको बस चलाउँछन् । 

उनको एक छोरी र छोरा छन् । २०७१ सालमा सो विद्यालयको अध्यक्ष हुँदा उनले शैक्षिक संस्थामा हुने भ्रष्टाचारविरुद्ध संघर्ष गरेकी थिइन् । विद्यालय सुधार्नुपर्ने माग राख्दै उनी त्यतिबेला अनशन बसेकी थिइन् । तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले उनीविरुद्ध गाली बेईज्जती मुद्दासमेत दर्ता गरेका थिए । जिल्ला र उच्च दुवै अदालतले उनको पक्षमा फैसला गरेको थियो ।
 

टिप्पणीहरू