महँगीको मारमा उपभोक्ता, सरकारी अनुगमन शून्य
-टिका बुढा क्षेत्री
बजारमा एक्कासी बढेको महँगीले आम उपभोक्ताको ढाड सेकेको छ । दैनिक उपभोग्य सामानको निरन्तर मूल्यवृद्धिका कारण उपभोक्ता मर्कामा परेका हुन् । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले कालोबजारी शुरु गरेका छन् । भारतको पछिल्लो निर्णय अगावै भित्रिएका चामलमा समेत महँगो मूल्य थोपरिएको छ ।
भारतमा गोलभेडाको चर्को मूल्यवृद्धिपछि त्यसको असर नेपालमा पनि देखिएको छ । भान्छामा प्रयोग हुने जिराको मूल्य पनि छोइनसक्नु छ । हरियो तरकारीको मूल्य त्यसैगरी बढेको छ । घट्दो आम्दानी र बढ्दो महँगीले धेरै तर विपन्न वर्गलाई निकै अप्ठेरोमा पारेको छ । तर, सरकारी निकायबाट हुने बजार अनुगमन शून्यप्रायः छ ।
नेपाली समाजमा अब चाडबाड शुरु हुँदैछ । यस्तै अवस्था रहेमा सर्वसाधारणलाई दशैं, तिहार, छठलगायत पर्व मान्न पनि महाभारत पर्ने निश्चित छ ।
के कारणले बढ्छ महँगी ?
आर्थिकवृद्धि र मूल्यवृद्धिको अनुपात नमिलेको अवस्थामा मुलुकको अर्थव्यवस्थामा प्रभाव पर्छ । यसअघि भारतले नेपालमा नाकाबन्दी लगाउँदा आर्थिकवृद्धि र मूल्यवृद्धिबीच व्यापक अन्तर देखिएको थियो । आर्थिक वर्ष २०७२–७३ मा आर्थिक वृद्धिद्धर शून्य दशमलव ७७ प्रतिशत मात्रै थियो । जबकी ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो ।
सो वर्ष ९ दशमलव ५ प्रतिशत मूल्यवृद्धिको अनुमान गरिएको थियो । तर, मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशत पुग्यो । २०८०–८१ मा आर्थिकवृद्धि ३ दशमलव ७९ प्रतिशत मात्रै आकलन गरिएको छ । ६ प्रतिशतभन्दा माथि नपुर्याउने लक्ष्य राखिएपनि त्यो सम्भव देखिँदैन । गत मंसिरदेखि बढेको सामानको मूल्य अहिलेसम्म ओर्लेको छैन । ओर्लने छाँटकाँट पनि देखिँदैन ।
अन्नदेखि माछामासु र हरियो तरकारीसम्मको मूल्य बढेको छ । खाद्य तथा पेय पदार्थमा पनि मूल्यवृद्धि भएको छ । गत माघसम्म मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत थियो, जुन बढेर ६ दशमलव ४७ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले गत बुधबार सार्वजनिक गरेको पछिल्लो सात महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले मँहगी धेरै बढेको देखाउँछ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा बढेको देखिन्छ । उपत्यकाका तीन जिल्लामा ७ दशमलव ५८ प्रतिशतले मूल्यवृद्धि हुँदा तराईमा ७ दशमलव २६ प्रतिशत पुगेको छ ।
(प्रशिक्षार्थी)
टिप्पणीहरू