उक्त समाचारले प्रहरीलाई तनाव, गृहमन्त्रीले पोखे असन्तुष्टि
बुधबार साँझ मन्त्री क्वार्टर पुल्चोकमा तारे गाडीसहित प्रहरीका उच्च पदस्थ कर्मचारीहरु प्रवेश गरे । साँझ साँढे ६ बजे महानिरीक्षक बसन्त कुँवर,सिआइबीकी एआइजी किरण बज्राचार्य,उपत्यका प्रहरी कार्यालयका प्रमुख श्यामलाल ज्ञवाली,काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की,अपराध महाशाखाका एसएसपी मनोज केसी लगायतको टोली गृहमन्त्री नारायणकाजी श्रेष्ठको क्वार्टरमा छुट्टाछुट्टै प्रवेश गर्यो ।
रातोपाटी र कान्तिपुर दैनिकमा प्रकाशित सुन तस्करसँग माओवादी नेताहरुको हिमचिमसम्बन्धी समाचारले गृहमन्त्रीलाई तनाव दिएपछि त्यही वारेमा बुझ्नु उक्त आकस्मिक उर्दीको मनशाय थियो ।
भेटघाटको सुरुवातदेखि नै प्रहरीप्रति आक्रामक बनेका काजीले आफूलाई पहिले रिपोर्टिङ नगरी मिडियालाई सूचना चुहाएको,पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउ नगरेको तर पक्राउ अरुलाई नै निशाना बनाएको, डिएसपीहरुले पत्रकारलाई गोप्य कागजात उपलब्ध गराएको र सूचना दिएको लगायतको विषयमा प्रहरीको आलोचना गर्दै त्यस्ता कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको श्रोतको दावी छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक साताअगाडि पनि सिआइबीका एआइजी किरण बज्राचार्य र अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीलाई बोलाएर दुई डिएसपीको बारेमा जानकारी लिएको बताइन्छ । भेपमा लुकाएर ल्याएको १० किलो सुनसम्बन्धी विषयमा रातोपाटीमा प्रकाशित महराको कनेक्सनसम्बन्धी सूचना ती डिएसपीहरुले दिएको भन्दै उनीहरुलाई राडारमा राख्न मन्त्रीले दुवै कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए ।
त्यसो त गहृमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीमा महराको कनेक्सनसम्बन्धी समाचार दिने व्यक्ति सिआइबी र अपराध महाशाखाकै डिएसपी हुन् भन्दै खबर दिने व्यक्ति अरु कोही नभएर रातोपाटीमै कार्यरत पत्रकार रहेको चर्चा छ ।
जब बुधबार कान्तिपुर दैनिक र रातोपाटीमै सुन तस्करीमा माओवादी नेताहरुको सम्बन्ध रहेकोबारे अर्को समाचार आयो,त्यसपछि गृहमन्त्रीले सोही साँझ क्वार्टरमै बोलाएर आइजीपी बसन्त कुँवर लगायतप्रति गुनासो पोखेका हुन् ।
सञ्चारमाध्यमले सोही कनेक्सन चार्टको आधारमा समाचार बनाएका थिए ।
टिप्पणीहरू