जताततै ठगी, चार जना पक्राउ

जताततै ठगी, चार जना पक्राउ
सुन्नुहोस्

पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने क्रम बढ्दो छ । आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारी प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्ने दलालहरुको बिगबिगी बढिरहेको बेलामा प्रहरीले सोही आरोपमा तीन जनालाई पक्रेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दलालहरु शालिकराम अर्याल, सन्दिपकुमार चौधरी र एकमाया पुलामी मगरलाई पक्राउ गरेको छ । 

धादिङ घर भई हाल कलंकी बस्दै आएका ४५ वर्षे शालिक वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने र त्यहाँ पुगेपछि फुड डेलिभरीको काम लगाइदिने भन्दै पीडितबाट पटक पटक गरी ५० हजार रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएका थिए ।

यस्तै, सुनसरीका ४० वर्षे सन्दिपले पनि आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने नाममा पीडितबाट २ लाख ५५ हजार रुपैयाँ ठगेको पुष्टि भएको छ । 

गोरखाकी ५० वर्षीया एकमायाले वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने र त्यहाँ पुगेपछि मासिक एक लाखभन्दा बढी हुने तलब हुने प्रलोभन दिएकी थिइन् । उनले कृषि कम्पनीमा काम लगाइदिने आश्वासन बाँड्दै पीडितबाट पटक पटक गरेर २ लाख ५६ हजार रुपैयाँ उठाएपछि फरार भएकी हुन् ।

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुर गरेपछि विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाएको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभागमा बुझाइएको छ । 

यसैगरी, सामाजिक सञ्जालमार्फत् रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ९ बस्दै आएकी ५५ वर्षीया कमलादेवी श्रेष्ठ उक्त हर्कत गरेपछि पक्राउ परेकी छन् ।  

उनले टिकटक र ह्वाट्ससएपमार्फत् साथी बनाई आफुलाई बेलायती नागरिक बताई सुनको गरगहना, डलर, आईफोन, जुत्ताजस्ता उपहारहरु पार्सलमा पठाएको जानकारी दिएकी थिइन् । त्योसँगै भन्सार शुल्कबापतको रकम जम्मा गर्न लगाएर ९१ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । 

उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू