महेश बस्नेतले खल्तीको नाम पढेपछि युवासंघमा कुटाकुट
नेकपा एमालेको भातृ संगठन युवा संघ कञ्चनपुरको अधिवेशनमा कार्यकर्ताबीच कुटाकुट भएको छ ।
हिजो भएको अधिवेशनमा नयाँ नेतृत्व चयनको विषयलाई लिएर चर्किएको आन्तरिक किचलो कुटाकुटमा परिणत भएको हो । कुटपिटबाट भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटा गम्भीर घाइते भएका छन् ।
जनाइएअनुसार युवासंघका इञ्चार्ज तथा पार्टी पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेतृत्व चयनमा एकलौटी गरेपछि केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए । त्यही निहुँमा बस्नेत समर्थकहरुले देवकोटालाई लखेटी लखेटी कुटेको बताइन्छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा दर्जनौँ व्यक्तिले एक जनालाई लखेट्दै कुटेको देखिन्छ ।
आफ्नै संगठनको सहयोध्दालाई कुट्ने कार्य राजनीतिमा अपराधिकरणको शुरूवात भएको भन्दै एमालेकै केही नेता-कार्यकर्ताले उक्त घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका छन् ।
जिल्ला अधिवेशनको उद्घाटन बस्नेतले गरेका थिए । उनले पार्टीको चितवन महाधिवेशनमा केपी ओलीले कोटको खल्तीबाट लिष्ट निकालेर नाम वाचन गरेकै शैलीमा कमिटी गठन गरेपछि विवाद चर्किएको र असन्तुष्ट खेमाले समानान्तर समिति बनाएको जनाइएको छ ।
टिप्पणीहरू