युवा संघको अधिवेशनमा कुटाकुट गर्ने एमाले कार्यकर्ताविरुद्ध किटानी जाहेरी
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ कञ्चनपुरको अधिवेशनमा भएको कुटपिटको घटना प्रशासनसम्म पुगेको छ । भीमदत्त नगरपालिका १८ का जननिर्वाचित वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि सांघातिक आक्रमणमा संलग्न भएको भन्दै ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि राजनीतिक घटनाले अर्को मोड लिएको हो ।
हिजो भएको उक्त घटनापछि देवकोटाकी आमा कमला देवकोटाले आज बिहानै जिल्ला प्रहरी कार्यालयमा ८ जना एमाले कार्यकर्ताविरुद्ध जाहेरी दर्ता गराएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल रोकाया, केशव चन्द, रोहितजङ्ग कुँवर, प्रवीन बोगटी, नविन चन्दलगायत आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग जाहेरी दर्ता भएको छ ।
जिल्ला पार्टी कार्यालयमा युवासंघको १० औं अधिवेशनमा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका देवकोटाले मतदाता नामावली टाँस गर्ने क्रममा असन्तुष्ट नेता–कार्यकर्ताको समूहले आक्रमण गरेको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका देवकोटाको स्थानीय माया मेट्रोमा उपचार भइरहेको र काठमाडौं लैजाने तैयारी गरिएको पारिवारिक स्रोतले बताएको छ ।
युवासंघका इञ्चार्ज तथा पार्टी पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेतृत्व चयनमा एकलौटी गरेपछि विवाद चर्किएको र त्यसले कुटपिटको अवस्था निम्त्याएको जिल्लास्थित एमाले कार्यकर्ताहरुको आरोप छ । बस्नेतको एकलौटी अस्वीकार गर्ने भन्दै असन्तुष्ट खेमाका कार्यकर्ताले देवकोटालाई लखेटी–लखेटी गोदेको हो ।
असन्तुष्ट समूहले समानान्तर समितिसमेत गठन गरेको छ ।
टिप्पणीहरू