गौशालामा उपमेयरले कर्मचारीको कठालो समातेपछि...

गौशालामा उपमेयरले कर्मचारीको कठालो समातेपछि...

महोत्तरीको गौशाला नगरपालिकामा कार्यरत एक जना कर्मचारीमाथि उपमेयर रेनुकुमारी महतोले दुर्व्यवहार गरेकी छन् । पाँचौं तहका कर्मचारी दिपेन्द्र यादवलाई उनले कठालो समातेर कुटेको बताइएको छ । 

ठेक्काको विषयमा असन्तुष्ट उपमेयर महतोले यादवकै कार्यकक्षमा पुगेर हातपात गरेको कर्मचारीहरुको भनाई छ । आफन्तलाई ठेक्का नपारेपछि चिढिएकी उनको हर्कतले नगरपालिकाको कार्यवातावरण तनावग्रस्त बनेको उनीहरुको आरोप छ । 

कर्मचारीहरु मिलेर उनको कार्यशैलीको प्रतिवाद गर्ने तयारी थालेका छन् । टेण्डरमार्फत् वार्षिक एक करोड ५५ लाख रुपैयाँको ठेक्का आदर्श कन्स्ट्रक्सनलाई दिइएको छ । हिजो मात्र ठेक्काको विषय टुंगिएको थियो । 

स्रोतका अनुसार उनले केही दिनदेखि दिपेन्द्रसँग ठेक्काको फाइल मागिरहेकी थिइन् । तर, दिपेन्द्रले सबै डकुमेण्ट आइनसकेको भन्दै फाइल हस्तान्तरणमा आनाकानी गरे । आफ्नो निर्देशन नमानेको आरोप लगाउँदै उनले आज नगरपालिकाभित्रै कर्मचारीमाथि हातापात गरेकी हुन् । 

‘सवा ३ बजेतिरको कुरा हो, मेयरले भनेको मात्र मान्ने, मैले भनेको नमान्ने भन्दै उहाँ बाहिरबाटै कराउँदै आउनुभयो । दिपेन्द्रको कार्यकक्षमा छिरेर उसको कठालोमा समातेर हातपात गर्नुभयो । अपशब्द प्रयोग गर्नुभयो । अहिले सबै कर्मचारी यस विषयमा छलफल गरिरहेका छौं‘, एक कर्मचारीले भने । 

यता, उपमेयर महतोले आफूमाथि लगाएको आरोप अस्वीकार गरेकी छन् । दिपेन्द्रमाथि आफूले हातपात नगरेको उनको दाबी छ । नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि जनता समाजवादी पार्टी प्रवेश गरेकी उनीमाथि यसअघि पनि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो ।  

‘उपमेयरको स्वभाव ठीक छैन । उहाँमाथि पटक पटक यस्तो आरोप लाग्दै आएको छ । एक जना वडाध्यक्षलाई आफैंले गाली गरेर उहाँले दुर्व्यवहारको आरोप लगाउनुभएको थियो । आफैं गालीगलौज गर्नुहुन्छ अनि आफैंमाथि दुर्व्यवहार भयो भन्नुहुन्छ’, एक जना वडाध्यक्षले गुनासो पोखे ।

टिप्पणीहरू