एमालेको कार्यक्रममा अब केपी ओलीको मात्रै फोटो
नेकपा एमालेले पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रमलाई व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।
सो पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी उक्त मापदण्ड बनाएको हो । जसमा कार्यक्रमको गरिमा र मर्यादा बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरुको फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्तालाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउनेलगायत छन् ।
त्यस्तै, कार्यक्रम शुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने पनि एमालेको निर्णय छ । पार्टीले गरेको यस निर्णय छिट्टै सर्कुलरमार्फत पार्टीपंतिलाई जानकारी गराइले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
'सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धि देहाय बमोजिमको एमालेले नियमित परिपत्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्दैछ', रिमालले भने ।
केन्द्रीय उद्योग तथा बाणिज्य विभागले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले पनि त्यसबारे जानकारी गराएका थिए ।
टिप्पणीहरू