सन्दिप लामिछानेको मुद्दामा फैसला आएन, पीडित किशोरीकी आमाको नागरिकता झिकाउन आदेश

सन्दिप लामिछानेको मुद्दामा फैसला आएन, पीडित किशोरीकी आमाको नागरिकता झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकीन गर्न आदेश दिएको छ ।

न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले आज मुद्धाको सुनुवाई गर्दै उक्त आदेश दिएको हो । इजलासमा पेश भएका कागजपत्रमा पीडित किशोरीकी आमाको जन्ममिति दुईवटा देखिएको भन्दै अदालतले जन्ममिति प्रमाणीकरणपछि मात्र बहस हुनेसमेत आदेश सुनाएको छ ।

सन्दीप पक्षले किशोरीको जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । 

उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा सन्दीपविरुद्ध २०७९ भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो भने कात्तिक १८ मा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि सन्दिप रिहा भएका थिए । 

शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते अर्को आदेश दिएको थियो । 

तर, किशोरीको उमेर यकीन नहुँदा अड्किदै आएको मुद्दा उनकी आमाको नागरिकताका कारण पुन: लम्बिएको हो ।

टिप्पणीहरू