विद्रोहीलाई माफीको मौका दिएको एमालेद्वारा फेक एकाउण्टमा कडाई
नेकपा एमालेले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुले आत्मालोचना गरे माफी दिने भएको छ । गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले विद्रोहीहरुलाई माफीको मौका दिने निर्णय गरेको बताइएको छ ।
सचिवालयले गरेको निर्णयबारे पार्टीपंक्तिलाई जानकारी गराउन आज अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा बागी उम्मेदवारी दिएर कारबाहीमा परेका तर आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेलाई अनुमति दिने निर्णय भएको उल्लेख छ । सचिवालयले अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने निर्णय गरेको पनि अपानीमा जनाइएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले त्यसलाई रोक्न केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको पनि जनाइएको छ । पार्टी र नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि विभागलाई निर्देशन दिएको अपानीमा उल्लेख छ ।
टिप्पणीहरू