कुपण्डोलबाट पाँचसय केजी पटका बरामद
प्रहरीले ललितपुरबाट ठूलो परिमाणमा पटका बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीपैठारी गरेर भारतबाट ल्याइएको पटका, भुईंचम्पालगायत विष्फोटक पदार्थ फेला पारेको हो ।
प्रहरीले पटका ल्याएका व्यक्तिलाई पनि पक्रेको जनाएको छ । बाराको कलैया उप–महानगरपालिका स्थायी घर भई ललितपुरको सानेपा बस्दै आएका २८ वर्षीय जितेन्द्रकुमार जैसवाल पटका व्यापारी हुन् ।
विशेष सुराकीको आधारमा खटिएको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर १, कुपण्डोलको कानदेवतास्थानमा रहेको उनको गोदाममा आज दिउँसो छापा मारेको थियो । सो क्रममा प्रहरीले रकेट बम, किङ्ग कोब्रा, फायर वर्क्स, शिवकाशी लेखिएको ३१ बोरा पटका भेटाएको हो ।
उक्त पटकाको तौल पाँच सय केजीभन्दा बढी रहेको प्रहरीले जनाएको छ । त्यस्तै, उनलाई पनि गोदामबाटै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई विष्फोटक पदार्थसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
टिप्पणीहरू