गोरु काटेपछि सामाजिक सञ्जालमा चर्को विरोध, उक्त कसूरमा एक वर्षमा डेढ सय पक्राउ

गोरु काटेपछि सामाजिक सञ्जालमा चर्को विरोध, उक्त कसूरमा एक वर्षमा डेढ सय पक्राउ

यतिबेला सामाजिक सञ्जालमा गोरु काटेर भोज खुवाएको भिडियो निकै नै भाइरल बनेको छ । धरानमा गोरु काटेर भोज खाएको भिडियोले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । धरानको मङ्गलबारे चोकमा सार्वजनिक रुपमा गोरु काटेर भोज खुवाएको भनि भिडियो बाहिरिएपछि चर्को आलोचना भइरहेको छ । 

‘राज्यले जति नै दमन गरेपनि खाने मुखलाई जुङ्गाले छेक्दैन’ भनेर पहिचानवादी भनिएकाहरुले भिडियोमार्फत् सरकारलाई नै चुनौती दिइरहेका छन् । मुलुकभर नै गाई र गोरु काटेर खानुपर्ने भन्दै उनीहरुले बोलेको पनि भिडियोमा सुनिन्छ । ‘गोरुको धनीसँग सर्वसहमतिमा गोरुको दाम चुक्ता गरेपछि त्यो गोरु मेरो हुन्छ । त्यो गोरु मैले ल्याएपछि त्यो गोरुको अधिकार मेरो हुन्छ । मारौं, पालौं, बेचौं, जोतौं, जेसुकै गरौं त्यो अधिकार मेरो हुन्छ’, एक जना व्यक्तिले भनेका छन् । 

त्यस्तै, भिडियो खिचिरहेकी अर्की एक युवतीले गाईको मासु खाएपछि संविधान पनि संशोधन गर्नुपर्ने बताएकी छन् । ‘मासु खाएपछि अब संविधान पनि संशोधन गर्नुपर्छ । नत्र गाईको मासुले पाप लाग्छ’, ती युवतीले भनेकी छिन् । उक्त भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ । कानुनले निषेध गरेको कार्य खुलेआम रुपमा गरेपछि चर्को विरोध जनाइएको छ । 

मुलुकको कानुनको धज्जी उडाउनेलाई कारबाही हुनुपर्ने भन्दै धेरैले माग राखेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘हामीले जुन देशमा बस्यो, त्यो देशको कानुन मान्नुपर्ने हुन्छ । लुकेर काटेर खानु अलग कुरा हो, यसरी सामाजिक सञ्जालमै नेपालको कानुनको धज्जी उडाउनेलाई हदैसम्मको सजाय हुनुपर्ने हो । कुनैपनि काम होस् आफूलाई हित हुने छ र देशको कानुनको लागि अहित हुने छ भने त्यो काम गर्नु पाप हो ।’

त्यस्तै, अर्कोले भनेका छन्,‘सरकारले प्रतिबन्ध लगाएको काम गर्नेलाई सरकारले कारबाही गर्ला त ?’ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसूरबारे उल्लेख छ । उक्त परिच्छेदको दफा २८९ को उपदफा (१) मा भनिएको छ, ‘कसैले गाई वा गोरु मार्न वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन ।’

कुनै व्यक्तिको कारण गाई वा गोरु मरेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ । कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था छ । 

पशुपन्छीसम्बन्धी कसूरमा गएको वर्ष कति समातिए ? 

आर्थिक वर्ष २०७९–८० मा ८३ वटा पशुपन्छीसम्बन्धी कसूरका मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार काठमाडौंमा पाँच वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, कोशी प्रदेशमा तीन, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा दुई वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

उक्त कसूरमा १४२ जना स्वदेशी पक्राउ परेका छन् । तीमध्ये पुरुष १२६ र महिला १६ जना छन् । त्यस्तै, एक जना विदेशी पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

कानुनले बर्जित गरेका क्रियाकलाप गर्नेलाई कारबाही गर्छौं : प्रहरी 

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अभियुक्तहरुको खोजी गर्न थालेको छ । यो विषयलाई गम्भीरताका साथ लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले अभियुक्तको खोजी भइरहेको जानकारी दिए । उनले कानुन उल्लंघन गर्ने कसैलाई पनि नछोड्ने प्रतिबद्धता जनाए । 

सामाजिक सञ्जालमा हालिएको भिडियोलाई आधार मानेर अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने,‘हामीलाई पहिले सूचना थिएन । सूचना भएको भए हामी त्यतिबेलै पक्राउ गरिसक्थ्यौं । हामी घटनास्थल पुग्दा सबै हिँडिसकेका थिए । होटलका सञ्चालकसँग सोधपुछको काम भइरहेको छ । गोरु काटेको हो कि होइन अनुसन्धान जारी छ ।’

गोरु काटेर खानु भनेको राज्यलाई चुनौती दिनु उनको निश्कर्ष छ । भिडियोमा बोल्ने व्यक्ति यसअघि पनि गोरु काटेको अभियोगमा पक्राउ परेको डिएसपी मल्लले जानकारी दिए । धरौटीमा छुटेकाले उनीहरुमा कानुन उल्लंघन गर्ने मनोबल बढेको मल्ल बताउँछन्  । ‘उनीहरुलाई हामीले नै पक्राउ गरेका थियौं । अदालतबाट धरौटीमा छुटेपछि उनीहरुको मनोबल बढेको हो । कानुनभन्दा हामी माथि छौं भन्ने ठानेको देखिन्छ’, उनले भने ।

टिप्पणीहरू