पौडेल र पोख्रेलको टक्कर,लुम्बिनी एमालेको चक्कर

पौडेल र पोख्रेलको टक्कर,लुम्बिनी एमालेको चक्कर
सुन्नुहोस्

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १६ गतेदेखि बुटवलमा हुँदैछ । अधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

अधिवेशनबाट छानिने नयाँ नेतृत्वका लागि राधाकृष्ण कँडेल र हरि रिजाल तीव्र आकांक्षी छन् । कँडेल एमाले लुम्बिनीका वर्तमान अध्यक्ष हुन् भने रिजाल पार्टीमा केन्द्रीय सदस्य छन्  ।

‘एमालेभित्र भावी नेतृत्व’का रुपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको नेतृत्वका लागि आफूनिकट दुई नेतालाई अघि सारेका छन् ।

पौडेलले पाल्पाका कँडेल र महासचिव पोखरेलले प्युठानका रिजाललाई प्रदेश अध्यक्ष बनाउन खोजिरहेका छन् । उनीहरूले आफूनिकट केन्द्रीय सदस्यहरूलाई अधिवेशनको पूर्वसन्ध्यामा माहोल जुटाउन भूगोलमा खटाएको एमालेका एक केन्द्रीय सदस्य बताए ।

‘दुबैतिरका नेताहरू यतिबेला दाङ्ग–बुटवलतिरै छन्,’ उनले भने, ‘राधाकृष्ण कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको साथ छ, हरि रिजाललाई शंकर पोखरेलले साथ दिनुभएको छ।’

उपाध्यक्ष विष्णु पौडेलको साविक लुम्बिनी अञ्चल र महासचिव शंकर पोखरेलको राप्ती अञ्चलमा आ–आफ्नै प्रभाव छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट चुनिएका प्रतिनिधिहरूलाई तल्लो तहका नेताहरू आ–आफ्नो समूहमा तान्न खोजिरहेका छन् ।

कँडेललाई प्रदेश अध्यक्ष बनाउनका लागि उपाध्यक्ष पौडेलको निर्देशनमा नेताहरू खिमलाल भट्टराई, लक्ष्मण आचार्य र दिपा शर्मा खटिएका छन् । तर प्रदेश सचिवसमेत रहेका आचार्यले कँडेल र रिजालको विकल्पको रुपमा आफू पनि अध्यक्षको आकांक्षी भएको बताएका छन्।

त्यस्तै,महासचिव पोखरेलको निर्देशनमा रिजाललाई अध्यक्ष बनाउनका लागि नेताहरू खेममान खड्का,बलराम अधिकारी र कुमार दशौंदी मैदानमा खटिएका छन्।

 

टिप्पणीहरू