अस्पतालमा डाक्टर कुटिएपछि सेवा ठप्प

अस्पतालमा डाक्टर कुटिएपछि सेवा ठप्प

उपचारको क्रममा बालिकाको मृत्यु भएको घटनालाई लिएर आफन्तजनले चिकित्सकमाथि कुटपिट गरेपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं.७ काउले निवासी बालिका प्रशंसा मरासिनी पेट दुख्ने, वान्ता हुने समस्या लिएर हिजो साँझ अस्पतालमा भर्ना भएकी थिइन् । आज बिहान उनको उपचारको क्रममा निधन भएको हो । 

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पताल घेराउ गर्नुका साथै त्यहाँका प्रमुख डा.राजेन्द्र जिसीमाथि कुटपिट गरेको बताइएको छ । 

अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिरामीको जीवन रक्षार्थ २४ सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो उपचारमा लापरबाही गरेको भन्दै कुटपिट गरिनुले सबैलाई त्रसित, मर्माहत तथा दुखित बनाएको बताएको छ । 

यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएको भन्दै अस्पतालले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ । सेवा प्रवाह बन्द हुँदा उपचारका लागि गएका बिरामी अप्ठेरोमा परेका छन् ।

टिप्पणीहरू