उता हेलिकोप्टर सेवा, यता ठम्याउन नसकिने गोरेटो

उता हेलिकोप्टर सेवा, यता ठम्याउन नसकिने गोरेटो

-शंकरसिंह धामी

उत्तरपश्चिममा रहेको दार्चुला भारत र चीनसँग सिमाना जोडिएको विकट पहाडी जिल्ला हो । तर त्रिदेशीय सिमाक्षेत्रमा नेपालतर्फ पैदल हिँड्ने गोरेटो बाटोको समेत सुविधा छैन । महाकालीपारी भारत सरकारले आफ्ना नागरिकका लागि हेलिकोप्टर सेवा उपलब्ध गराएको देखिन्छ । 

सीमा नदी महाकालीको किनारैकिनार भएर व्यासको छाङरु र टिंकर गाउँ जोड्ने घोडेटो बाटो पञ्चायतकालमा नै बनाइएको थियो । तर हाल उक्त बाटो सञ्चालनमा छैन । दार्चुला सदरमुकामदेखि ४० किलोमीटर उत्तरतर्फ रहेको व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म सडकको ट्रयाक खोलिएको छ । दुई महिनादेखि खलंगा–सुन्सेरासम्मको सडकमार्ग समेत बन्द छ । 

गाउँपालिका केन्द्र सुन्सेरादेखि दुम्लिङ हुँदै व्यासको छाङरु गाउँ जोड्ने ४० किलोमीटर लामो पैदलमार्ग दुई दशकदेखि ठप्प छ । ठाउँ–ठाउँमा क्षतिग्रस्त र नियमित मर्मत नगरिँदा महाकाली किनारको पैदलबाटो बन्द भएको बताइन्छ । 

व्यासको छाङरुदेखि चिनियाँ सीमा नजिकको तिंकर गाउँ जोड्ने १२ किलोमीटर लामो पैदल मार्ग भने अहिले पनि सञ्चालनमा छ । व्यासका स्थानीय बासिन्दा सरमुकाम खलंगाबाट भारतीय बजार धारचुला हुँदै यात्रा गर्छन् । भारतको स्थानीय प्रशासनको लिखित अनुमति लिएर उनीहरुले यात्रा गरिरहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले जानकारी दिए ।
 

भारतको धारचुलाबाट सडकमार्ग हुँदै व्यासको सीतापुलबाट नेपाल प्रवेश गरेर व्यासका स्थानीयले आवतजावत गर्दै आएका छन् । ‘धारचुलाबाट पाँच घण्टाको सवारी साधनको यात्रामा व्यास पुग्न सकिन्छ । छोटो र सजिलो भएकोले त्यहाँका स्थानीयले भारतीय मोटरबाटो प्रयोग गर्छन्,’ वडाध्यक्ष बोहराले भने । तिंकर गाउँका बासिन्दा भारतीय बाटो हुँदै छाङरुको सीतापुल पुग्छन् र त्यहाँबाट १२ किलोमीटर पैदल हिँडेर तिंकर पुग्नुपर्ने बाध्यतामा अझैपनि छन् ।

नेपालतर्फको घोडेटो बाटो हुँदै यात्रा गर्दा कम्तीमा तीन दिन लाग्ने र धेरै ठाउँमा भत्किएकाले जोखिमपूर्ण रहेको इलाका प्रहरी कार्यालय तिंकरका प्रमुख (वरिष्ठ सई) हर्क सिंह महताले बताए । ‘नेपालतर्फको लामो र जोखिमपूर्ण बाटो कसैले प्रयोग गर्न चाहँदैन, भारततर्फबाट एकाध घण्टामै यात्रा गर्न सकिने विकल्प भएपछि नेपालतर्फको लामो र जोखिमपूर्ण बाटो किन हिँड्छन् ?’ विगत तीन वर्षदेखि तिंकरमा प्रहरी प्रमुख रहँदैआएका वरिष्ठ सई महताको अनुभव हो यो ।

नेपाली सुरक्षाकर्मीले समेत भारतीय मार्गकै प्रयोग गर्दै आएका छन् । व्यास क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार युनिट छन् । सबै सुरक्षाकर्मीले भारतीय बाटो हुँदै व्यास क्षेत्रमा आवतजावत गर्दै आएको व्यास गाउँपालिका १ का वडा सदस्य हितेश सिंह बुढाथोकीको भनाई छ । ‘तीन महिनाअघि सशस्त्र प्रहरीका डिआईजीले पनि भारतीय बाटो हुँदै व्यासको भ्रमण गरेका थिए,’ उनले भने । नेपालतर्फको लामो र जोखिमपूर्ण बाटो हिँड्नुभन्दा भारतीय प्रशासनको अनुमति लिएर सो क्षेत्र आवतजावत गर्ने सबैको अभ्यास छ । 

नेपालतर्फको बाटो सञ्चालनका लागि प्रयास नभएको पनि होइन । तिनवटै तहका सरकारले व्यासको पैदल बाटोमा बजेट खर्च गरेपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । ‘बाटो सञ्चालनमा ल्याए पनि तीन दिनसम्म पैदल हिँड्नुपर्ने अवस्थाका कारण नेपाली बाटो प्रयोग कम हुने अवस्था छ,’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भने ।

संघीय सरकारअन्तर्गको स्थानीय पूर्वाधार विभागले विगत तीन वर्षदेखि व्यासको पैदल बाटो निर्माण र मर्मत गर्दै आएको जानकारी दिएको छ । विभागले ठेक्काबाट गराइरहेको मर्मत कार्य हालसम्म सकिएको छैन । चालु आर्थिक वर्षमा बाटो निर्माण एवम् मर्मत कार्य सम्पन्न गरिने विभागका इञ्जिनियर किशोर विष्टले जानकारी दिए । ‘यो आर्थिक वर्षमा ठेक्काको सम्पूर्ण कार्य सम्पन्न गरिन्छ, हामीसँग अहिले एक करोडको बजेट छ’ उनले भने । 

 नेपालको पैदलबाटो सञ्चालनमा आए स्थानीय भरिया, यार्सा संकलक र भेडाबाख्रा पालकलाई धेरै सुविधा हुने देखिन्छ । बाटो लामो भएपनि गाईवस्तु, भरिया र यार्सा संकलनका लागि नेपालतर्फको बाटो उपयोगी हुने स्थानीयको बुझाई छ ।

महाकालीपारीको भारततर्फ भने स्थानीयका लागि दुई महिनादेखि हेलिकोप्टर सेवा उपलब्ध गराइएको छ । महाकालीकोे पश्चिमी किनारमा भारतले सडक निर्माण गरिरहेको छ । नयाँ सडक निर्माण भएकाले बेला बेलामा अवरुद्ध हुने गरेको छ । त्यसैले उत्तराखण्ड सरकारले हेलिकोप्टर सेवा समेत उपलब्ध गराएको धारचुलास्थित भारतीय पत्रकार राकेश तिवारीले बताए ।

 राज्य सरकारले हरेक वर्ष मनसुनको समयमा धारचुला तहसिल क्षेत्रका जनताका लागि हेलिकोप्टर सेवा उपलब्ध गराउँदै आएको पत्रकार तिवारीको भनाई छ । प्राकृतिक प्रकोप र आकस्मिक स्वास्थ्य उपचारका लागि धारचुला क्षेत्रका जनतालाई निःशुल्क हेलिकोप्टर सेवा दिइएको हो । सामान्य अवस्थामा हेलिकोप्टर यात्रा गर्दा धारचुलादेखि गुञ्जी, नाभी, गब्र्याङ, कुटी, बुँदी क्षेत्रका वासिन्दाले प्रतिव्यक्ति तीन हजार छ सय भारतीय रुपैयाँ तिर्नुपर्छ । 

निजी कम्पनीको हेलिकोप्टर भाडामा लिएर उत्तराखण्ड सरकारले सीमाक्षेत्रका जनतालाई सुविधा दिएको हो । हेलिकोप्टर सञ्चालन एवम् समन्वयको जिम्मा धारचुलास्थित एसडिएमलाई दिइएको छ । आवश्यकताअनुसार धारचुला विधानसभा क्षेत्रअन्तर्गतको मुनस्यारी तहसिलका वासिन्दालाई पनि आकस्मिक हेलिकोप्टर सेवा दिइएको बताइन्छ ।

अगष्ट महिनासम्म हेलिकोप्टर सेवा उपलब्ध गराइए पनि स्थानीयले एक महिना थपको माग गरेका छन् । प्राकृतिक प्रकोपमा परेर मृत्यु भएकाहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्न हेलिकोप्टरबाट डाक्टरहरु पुर्याइन्छ । तीन हप्ताअघि कालापानी क्षेत्रमा ज्यान गुमाएका एक नेपालीको गुञ्जीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेर त्यहिँ दाहसंस्कार गरिएको थियो । उक्त घटनाका पीडित आफन्त र डाक्टरसहितको टोलीलाई धारचुलास्थित एसडिएम कार्यालयले हेलिकोप्टरमा गुञ्जी पठाएको थियो । 

छिमेकी भारतले महाकाली किनारको सडकलाई दुई लेनको चौंडासहित कालोपत्रे गर्ने कार्य युद्धस्तरमा अघि बढाएको छ । सीमा क्षेत्रका बासिन्दाको मन जित्न मनसुनको समयमा हेलिकोप्टर सुविधा दिइएको हो । नेपालतर्फ भने पैदल हिँड्ने बाटोसमेत नभएको अवस्था छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणको गति पनि सुस्त छ । यस कारण नेपाली जनता, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरु भारतीय प्रशासनको अनुमति लिएर व्यासक्षेत्रमा आवतजावत गर्दा भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था विद्यमान छ ।

टिप्पणीहरू