खुल्ला र बन्द सत्रमा एमाले अध्यक्ष ओलीले मिलाउन खोज्दा पनि...
नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनकै बन्द सत्र जारी छ । बुटवलमा हिजोदेखि शुरु भएको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मको परम्पराविपरित उद्घाटन र बन्द दुबै सत्रलाई सम्बोधन गर्दै मिल्न निर्देशन दिए पनि दुबै पक्षले नटेर्दा नेतृत्व चयनको विषय निकै पेचिलो बनेको छ । सहमतिमा नेतृत्व चयन हुने बताइए पनि सम्भावना करिब ९९ प्रतिशत टरिसकेको छ ।
निर्वाचन प्रक्रिया अघि नबढाउन सहमतिका लागि भोलि बिहानसम्मको समयसीमाको निम्ति उम्मेदवारी दिन सकिने बताइएको छ । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्रतिस्पर्धामा छन् ।
हिजो उद्घाटन र आज बिहान बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओली राजधानी फर्कनुभएको छ । उहाँले वर्तमान अवस्थामा आन्तरिक प्रतिस्पर्धामा समय खर्चन जरुरी नभएको बताउनुभएको थियो ।
उहाँको भनाइ छ, ‘लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सुनाएको फैसलालाई सहमति जनाएर अगाडि बढ्नुहोस् । अन्यथा सहमति नभए स्वस्थ प्रतिस्पर्धाका लागि पनि ढोका खुला छ ।’ प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकको गुटबीच तीब्र प्रतिस्पर्धा छ ।
लुम्बिनीको सन्दर्भमा अध्यक्ष ओलीले महासचिव पोखरेललाई सजिलो हुनेगरी प्रदेशमा नेतृत्व ल्याउन निर्देशन दिएपछि पोखरेल निकट नेता हरि रिजाल अध्यक्षमा भिडेका छन् । उनलाई अध्यक्ष बनाउन निर्देशन दिइएपछि गत सातादेखि नै एक खालको विवाद हुँदै आएको छ । पौडेल समूहले भने अध्यक्ष ओलीको निर्देशनलाई उल्लंघन गरेर जबर्जस्ती निर्वाचनमा जाने वातावरण बनाएको पोखरेल पक्षको आरोप छ ।
उपाध्यक्ष पौडेल निकट राधाकृष्ण कँडेल प्रदेश कमिटी अध्यक्षको आकांक्षी छन् । यसले अध्यक्ष ओलीको निर्देशनलाई उपाध्यक्ष पौडेल समूहले अटेर गरेको भन्ने अर्थ लगाइएको छ । एकातिर ओलीको निर्वाचन गर्ने चाहना देखिँदैन । अर्कोतिर उपाध्यक्ष पौडेल समूहमाथि पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउन सक्रिय रहेको आरोप लगाइएको छ । त्यसबारे लामो स्पष्टिकरणसमेत पौडेलले यसअघि नै दिइसकेका छन् ।
रात परेपछि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । तीमध्ये रिजाल र कँडेलले पूरै प्यानलको घोषणाका साथ उम्मेदवारी दिएका छन् । सहमतिको निम्ति गाँठो परेपछि निर्वाचन समितिले भोलि बिहान १० बजेसम्मको समयसीमा तोकिदिएको छ ।
यता अध्यक्षको आज बिहानको पुनः निर्देशनमा उपमहासचिव प्रदीप ज्ञवाली,सचिव अर्याल,महासचिव पोखरेलको प्रतिनिधित्व गर्दै बलराम अधिकारी र उपाध्यक्ष पौडेलको तर्फबाट लीला गिरीबीच छलफल भएको बताइन्छ ।
छलफलमा सहभागी स्रोतका अनुसार एमाले अध्यक्षले थप दबाब दिनसक्ने सम्भावना बढेको छ । उहाँले चाहेका रिजाललाई अध्यक्ष बनाउनैपर्ने उर्दी जारी हुने स्रोतको दाबी छ । यस्तो भएमा रिजालको विकल्पमा राधाकृष्ण अध्यक्ष बन्ने सम्भावना क्रमशः साँघुरो हुने महाधिवेशन प्रतिनिधिहरुको बुझाई छ ।
प्राप्त विवरणअनुसार अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण कँडेलका प्रस्तावक राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल रहेका छन् । त्यसैगरी हरि रिजालको प्रस्तावक विजयराज विष्ट हुन् भने समर्थक बालासिंह काउछा बसेका छन् ।
टिप्पणीहरू