सशस्त्र प्रहरीले कुटेका बालकको आँखा फुट्यो

सशस्त्र प्रहरीले कुटेका बालकको आँखा फुट्यो

सशस्त्र प्रहरीको कुटाइबाट एक जना बालकको आँखा फुटेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का निवासी जैयद हाश्मीको आँखा फुटेको छ । भदौ १४ गते चौलिक्का चोकमा स्थानीयबासीसँग भएको झडपमा सशस्त्र प्रहरीले बोकेको बन्दुकको कुन्दाले लागेपछि बालकले आँखा गुमाउनुपरेको बताइएको छ । 

यता, बालकको परिवारले झडपमा नभई सशस्त्र प्रहरीको निर्घात कुटाइबाट आँखा फुटेको आरोप लगाएका छन् । ‘त्यो दिन उ झडपमा संलग्न नै भएको थिएन् । यो सशस्त्र प्रहरीको कुटाइबाट भएको हो’, बालकका परिवारले भने । सो दिन राति चौलिका नजिकको ठेलामा माछा खाने क्रममा ३० नम्बर गणबाट खटिएको टोलीले राइफलको कुन्दाले हान्दा आँखा फुटेको बालकको भनाई छ । 

बालकका अनुसार सशस्त्र प्रहरीहरुले उनलाई तस्कर भन्दै कुटेका थिए । उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको हालसम्म पनि पहिचान हुन सकेको छैन । घाइते बालकको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा उपचार भइरहेको छ । मानव अधिकारकर्मीहरुले उक्त घटनाको छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँके र जिल्ला प्रहरी कार्यालय, बाँकेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

निर्दोष बालकमाथि जनसेवामा खटिएका प्रहरीद्वारा कुटपिट भएकोप्रति उनीहरुले चर्को विरोध जनाएका छन् । पत्र बुझाए पनि सरोकारवाला निकायले छानबिनमा चासो नदेखाएको उनीहरुको आरोप छ । उनीहरुले दोषी प्रहरीलाई कडा कारबाही हुनुपर्ने माग राखेका हुन् ।

टिप्पणीहरू