कार्यकक्षमै ‘रोमान्स’ गर्ने प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द

कार्यकक्षमै ‘रोमान्स’ गर्ने प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द
सुन्नुहोस्

लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल–२०१९’  अवार्ड रद्द गरिएको छ । 'अकाउण्टबिलिटी ल्याब नेपाल'ले अवार्ड रद्द गरेको हो । 

आज विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि हिजो २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ । आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो  । 

‘उक्त सम्बन्धमा आफ्नो रायसहितको जवाफ पठाउन भनि उपलब्ध माध्यमहरु (इमेल, मेसेन्जर, ह्वाट्सएप, फोन मेसेज, भाइबर) बाट पत्र पठाइएको थियो । जवाफमा राईले 'मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु । समग्र आईकन परिवारलाई पर्न गएको क्षतिको लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छ' भनेर जवाफ पठाउनुभएको थियो’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, ल्याबले राईको उक्त हर्कतप्रति खेद प्रकट गरेको छ । उक्त अवार्ड तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र मापदण्डको आधारमा दिइएको उल्लेख गर्दै विज्ञप्तिमा समाचारहरुमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । 

केही दिनअघि राईले कार्यकक्षमा आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको भिडियो सार्वजनिक भएको थियो । कार्यालयमै जडित सीसीटिभी क्यामेरामा कैद भएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू