जर्मनी पठाउने विज्ञापन झूठो ठहरियो
वैदेशिक रोजगारीका लागि जर्मनी पठाउने भन्दै सामाजिक सञ्जालमा गरिएको विज्ञापन झूठो ठहरिएको छ । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमार्फत् गरिएको त्यस्ता प्रचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।
विभागले नेपाल सरकार र जर्मन सरकारबीच भएको श्रम सम्झौताको हवाला दिई आकर्षित तलब र सेवासुविधासहित गरिएको विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘केही अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मन सरकारबीच भएको श्रम सम्झौताको हवाला दिई विभिन्न सेवासुविधा आकर्षक तलबसम्बन्धी विषयहरु समावेश गरी वैदेशिक रोजगार विभागले जारी गर्ने सूचनाजस्तै गरी जर्मनीमा नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रशारण गरेको भ्रमपूर्ण विज्ञापन–सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, वैदेशिक रोजगारमा जान चाहनेहरुलाई सामाजिक सञ्जालमा प्रकाशित विज्ञापनमा विश्वास नगर्न पनि विभागले आग्रह गरेको छ । विभागको वेवसाइटमार्फत् सूचनाबारे जानकारी गराउँदै आएको उल्लेख गर्दै विभागले कानुनको बर्खिलाप गरी सामाजिक सञ्जालमार्फत झूठा विज्ञापन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
टिप्पणीहरू