बेलायतमा नेपाली गायिकामाथि यौन शोषण गर्न खोज्ने शारदा आफै अप्ठेरोमा

बेलायतमा नेपाली गायिकामाथि यौन शोषण गर्न खोज्ने शारदा आफै अप्ठेरोमा
सुन्नुहोस्

आफूलाई बेलायत पुर्याएर यौन शोषण गर्न खोजेको वास्तविकता खुलाएकी नेपाली गायिकालाई अघिल्लो साता त्यहाँको गृह मन्त्रालयले भीजा रध्द र प्रहरीले निकै खोजबिन गरेतापनि अहिले भने परिस्थिति ठ्याक्कै उल्टिएको छ । सांगीतिक कार्यक्रममा सहभागिता जनाउन नेपालबाट बेलायत लगिएकी उनले आफूमाथि आयोजक संस्थाका हर्ताकर्ताले होटलमा यौन सम्बन्ध राख्न आग्रह गरेको खुलासा गरेलगत्तै प्रहरीले खोजी गरेको खबर बाहिरिएको थियो । 

३१ वर्षीया गायिका सीमा गुरुङ (नानु) लाई ह्याम्पसायर प्रहरीले उनको मोबाइलमा म्यासेज पठाउँदै सम्पर्कमा आउन सन्देश दिएको थियो । प्रहरीले त्यहाँको १०९ वा ९९९ मा फोन गरेर सम्पर्कमा आउन वा पठाइएको म्यासेजको जवाफ दिनसमेत अनुरोध गरेको थियो ।

उनलाई बेलायत लाने स्पोन्सर संस्था स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङले नाजायज सम्बन्ध राख्न पटक पटक दबाब दिएको उनले फेसबुक लाइभमा बताएकी थिइन् ।

उनी साढे ३ महिनाअगाडि २८ मेका दिन एउटा टोलीमा बेलायत पुगेकी हुन् । सांस्कृतिक कार्यक्रममा अरु हरु ५ सेप्टेम्बरमा नेपाल फर्के पनि उनी उतै अड्किइन् । अध्यक्ष शारदाले भने नानुसँग ‘मैले तिमीलाई नेपालबाट ल्याएको के फाइदा,होटल जाऊँ’ भनेको उनले बेलायतबाट गरिएको फेसबुक लाइभमा वास्तविकता उजागर गरेकी थिइन् । 

तर, अहिले बेलायती प्रहरीले उनै शारदालाई खोजेको छ । नानुले सेप्टेम्बर ९ तारिखका दिन बेलायती अधिकारीहरुसमक्ष आफूलाई स्पोन्सर संस्थाका अध्यक्षले यौन शोषण गर्न खोजेको,असुरक्षित महसुस भएको जनाएपछि उनलाई यसअघि दिएको नोभेम्बर ११ तारिखसम्म छ महिनाको भीसा कायम भएको जानकारी दिइएको छ । युके ल्याउँदाका स्पोन्सरले गर्न खोजेको गलत कार्यप्रति संवेदनशील हुँदै त्यहाँको गृह मन्त्रालय (होम अफिस) ले बेलायतमा छँदा कुनै असुरक्षित महसुस भएमा स्थानीय प्रहरी कार्यालय वा टेलिफोन नम्बर १०१ र ९९९ मा सम्पर्क गर्न भनेको छ ।

मोबाइलमा पठाइएको जानकारीमा बेलायती मन्त्रालयले यौन दुर्व्यहार भएको अवस्थामा आवश्यक सहयोगको निम्ति उपलब्ध गराइएको वेवसाइट लिंक खोल्न पनि अनुरोध गरेको छ । पछिल्लो घटनाले गायिकालाई होटलमा लगेर यौन सम्बन्ध राख्न खोज्ने शारदा स्वयम् अप्ठेरोमा परेको बताइन्छ । बेलायतमा अनिच्छित यौन सम्बन्ध वा त्यसका लागि गरिएको प्रयास र प्रस्तावलाई ठूलै अपराध मानिन्छ । 


गायिका सीमा यसअघि उनै शारदाकी भाञ्जीको घरमा बसेकी थिइन् । बदनियत राखेर आफूसँग गलत सम्बन्धको प्रस्ताव गरेपछि रातारात भागेर अन्य नातेदारको घरमा पुगेको सीमाको दाबी छ । ‘मलाई डेट चाहिँ  याद भएन । किनभने मलाई मेन्टल्ली टर्चर दिइएको थियो । डेट याद गर्न सकिँन,’ उनले शारदा गुरुङ्गले राखेको प्रस्ताव र घटनाक्रम उल्लेख गर्ने क्रममा रुँदै भनेकी थिइन्, ‘मलाई ल्याउनासाथ स्याङ्जा समाज युकेका अध्यक्षले उहाँको भाञ्जीको घरमा राख्नुभयो । म एक हप्ता त्यो घरमा बसेँ । एक हप्तापछि उहाँले मलाई फिजिकल रिलेसनसिपको प्रस्ताव राख्नुभयो । मैले इग्नोर गरेँ । मैले दाइभाइ भनेर यत्रो सपना बुनेर आएको । किन यस्तो प्रस्ताव राख्नुहुन्छ ? दाई म यो टाइपको मान्छे होइन भन्दै रोएँ ।’

शारदाको जवाफ उल्लेख गर्दै उनले फेसबुक लाइभमा भनिन्, ‘मैले यत्रो खर्चेर युकेसम्म ल्याएँ ।’ गायिकाको जवाफ थियो, ‘सरी म त्यो टाइपको केटी होइन । मलाई नेपाल रिटर्न पठाइदिनुस् ।’

यसैबीच गैरकानुनी रुपमा बेलायतमा बसेको भनिएकी नानु गुरुङलाई शकुन्तला गुरुङले लुकाएको वा संरक्षण दिएको भन्ने आशंकालाई शकुन्तलाले गलत भनेकी छन् । उनले आफू बस्दै आएको ६४ कार्मार्थेन क्लोज जियु १४८ टीएचस्थित निवासमा जोसुकैले हेर्न र खानतलासी लिन सक्ने उनले बताइन् ।   

शकुन्तलाले जनआस्थासँगको कुराकानीमा भनिन्, ‘बेलायतमा गैर कानुनी जो कोहीलाई आश्रय दिनु भनेको कानुनी रुपमा बसेकाहरु नै अप्ठेरोमा पर्नु हो । त्यो काम म गर्न सक्दिँन । कम्तीमा १० हजार पौण्ड जरिवाना तिर्नुपर्छ ।’ उनले अगाडि भनेकी छन्, ‘एनआरएनए युकेको बैंक खाताबाट रकम हिनामिना गरेको कुरामा कुनै सत्यता छैन । बरु उल्टै २३ सयभन्दा बढी पौण्ड विभिन्न व्यक्तिसँग लिन बाँकी छ ।’

टिप्पणीहरू