कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि ढकाल र खतिवडाको भिडन्त

कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि ढकाल र खतिवडाको भिडन्त

आषिका लम्साल 

नेकपा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशन आज दिउँसो उद्धघाटन हुदैछ । विराटनगरको वरगाछस्थित मनास्लु होटलमा प्रदेशभरबाट सहभागी झण्डै १२ सय प्रतिनिधि माझ अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । 

दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेशको नेतृत्व हत्याउन चारजना आकांक्षीले आ–आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । अध्यक्षका लागि भने केन्द्रीय सदस्य बिनोद ढकाल, वर्तमान अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टिकाराम चेम्जोङग र प्रदेश सदस्य घनश्याम खतिवडाको नाम चर्चामा छ । तर, मुख्य प्रतिस्पर्धा भने ढकाल र खतिवडाबीच हुने अनुमान गरिएको छ ।

अध्यक्षका दावेदार ढकाल एमाले मोरङका पूर्वअध्यक्ष हुन् । उनी पहिले अध्यक्ष केपी ओली समूहका कट्टर समर्थक थिए । तर, अहिले  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समर्थक भनेर चिनिएका उनलाई अध्यक्ष ओलीले ’धाप मारेको’ अवस्था छैन । दुई पटक एमाले मोरङको अध्यक्ष रहिसकेका ढकाल संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा निरन्तर तीन पटक हार बेहोरिसकेका पात्र हुन् । 

यता मोरङ क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित खतिवडा पहिले माधव नेपाल समूहमा थिए । तर, माधव समूहको विद्रोहलाई साथ नदिएर एमालेमै अडिएका उनलाई प्रदेशको नेतृत्व सुम्पन अध्यक्ष ओली तयार भैसकेकाले उनी सबैभन्दा बलिया दावेदार मानिएका छन् । खतिवडा र ढकाल मोरङको पाँचौ जिल्ला अधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी थिए । त्यो बेला माधव समूहका खतिवडालाई ओली पक्षका ढकालले पराजित गरेका थिए । 

हालका अध्यक्ष न्यौपाने अर्का बलिया दावेदार हुन् । उनी पनि विगतमा माधव समूहमा नै थिए । माधव नेपालको विद्रोहलाई अन्तिममा साथ नदिएका उनलाई प्रदेशको अध्यक्ष र आर्थिक मामिलामन्त्री हात लागेको हो । अर्का आकांक्षी धनकुटाका टिकाराम चेम्जोङले आफनो नाम चर्चामा ल्याएपनि अन्तिममा उनले विनोद ढकाललाई सर्मथन गर्नसक्ने चर्चा छ । 

 
न्यौपाने र चेम्जोङले अध्यक्षमा दाबी गरेपनि अन्तिममा ढकाल वा खतिवडामध्ये एकजनालाई समर्थन गर्नसक्ने तल्लो तहका कार्यकर्ताहरुको अनुमान छ । त्यसो हुँदा मुख्य प्रतिस्पर्धा ढकाल र खतिवडाबीच नै हुने देखिन्छ । 

यस प्रदेशमा रहेका पोलिटब्युरो र स्थायी समिति सदस्यहरु पनि ढकाल र खतिवाडाको पक्षमा बाँडिएका छन् । तर, ठूला नेताको समर्थन ढकाललाई भन्दा खतिवडालाई बढी रहेको बताइन्छ । ढकाल पक्षधर भनिएका स्थायी समिति सदस्यहरु शेरधन राई, राजेन्द्र गौतम र भीम आचार्य अहिलेसम्म खुलेर नलाग्नुले पनि त्यस्तो चर्चालाई बल पुर्याएको छ ।

पोलिटब्युरो सदस्य भानुभक्त ढकालसहित मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मतकुमार कार्कीलगायत अधिकांश नेता भने खतिवडाको पक्षमा खुलेर लागिसकेका छन् । यो पृष्ठभूमिमा निर्वाचनमार्फत अध्यक्ष टुंगो लाग्ने अवस्था आए ढकालभन्दा खतिवडा नै बलियो उम्मेदवार हुनसक्ने कार्यकर्तामाझ चर्चा छ । 
   
अधिवेशनले ५ पदाधिकारीसहित २ सय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । एमालेको विधानले अधिवेशनमा सहभागी सबै प्रतिनिधिहरुलाई आफूले चाहेको पदमा उम्मेदवारी दिने र मतदान गर्ने अधिकार दिएको छ ।
 

टिप्पणीहरू