महिलाको नम्बरबाट ढाँट्ने महाशय

महिलाको नम्बरबाट ढाँट्ने महाशय
सुन्नुहोस्

पछिल्लो समय ठगीको नयाँ–नयाँ रूप देखिन थालेको छ । ठगीधन्दा चलाउनेहरूले विभिन्न जुक्ति निकाल्ने गरेका छन् । जसका कारण कसैमाथि विश्वास गर्न नसकिने अवस्था बनेको छ ।

वैदेशिक रोजगारीमा ठगी, बैंकिङ्ग ठगी, अनलाइन ठगी सबैतिर ठगी । यिनकै फन्दामा पर्दा एक जना कृषि अर्थशास्त्रीले समेत नराम्ररी दुःख पाएका छन् ।पारिश्रमिकका लागि महिनौंदेखि लडिरहेका ती अर्थशास्त्रीको लेखसमेत अर्कै व्यक्तिले आफ्नो नाममा प्रकाशित गरेको पाइएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, स्थायी ठेगाना भई काठमाडौं बस्दै आएका कृषि अर्थशास्त्री दीपक उपाध्याय हुन् यसरी ठगिने ।

साना तथा मझौला व्यवसाय महासंघ, नेपालका अध्यक्ष एवं पर्यटन व्यवसायी हरिभक्त पराजुलीले उनको पारिश्रमिक पचाउन खोजेको बताइन्छ । नम्बर २३ वडा कार्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने उद्देश्यका साथ ‘प्रिपेयर नेचर बेस्ड टुरिज्म प्लान टु सपोर्ट एण्ड मिडियम साइज बिजनेस’ कार्यक्रम सञ्चालन निम्ति पराजुलीसँग साझेदारी गरेको थियो । पराजुलीले उक्त कार्यको परामर्शका लागि कृषि अर्थशास्त्री उपाध्यायलाई सम्पर्क गरेकोमा उपाध्यायले भ्याउँदिन भनेर कैयौंपटक नाइँनास्ती गरे तर उनले सुनेनन् । समय लिएर काम गर्नु भन्दै फकाए । पराजुलीले भनेअनुसार प्रतिवेदन तयार पारिदिए र गत फागुन १४ गते सुम्पिए । सो प्रतिवेदन गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, महानगरपालिका र वडा कार्यालयमा बुझाइसकिएको छ ।

तीन वटै निकायले सो प्रतिवेदन पास गरिसक्दा पनि पराजुलीले भने पैसा दिने कुनै सुर कसेका छैनन् । पैसा दिनुको साटो उनी फागुन १५ गतेदेखि फोन स्विच अफ गरेर बेपत्ता छन् । वडा कार्यालयले पैसा लिन बोलाइसकेको छ । तर, उनी गएका छैनन् । स्रोतका अनुसार प्रहरीमा विभिन्न उजुरी परेकाले वडा जान आलटाल गरेका हुन् । गत फागुन २९ गते बसेको वडासमिति बैठकले गरेको निर्णयमा भनिएको छ,‘यस कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति आवश्यक रकममध्ये रु २५,००,००० माग उपलब्धताको सुनिश्चितताका लागि उल्लेख भएबमोजिम समुन्द्री विकासका लागि अनुकूलता देखिएकाले सो संस्थासँग सहकार्य गरी काम गर्ने ।’ तर, उनले हालसम्म पनि वडाबाट भुक्तानी लिएका छैनन् । फोन नै बन्द गरेर भागेका उनले ह्वाट्सएपबाट कुराकानी गर्दै आएको उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार छोरीलाई अस्पताल भर्ना गरेको बेला समेत उनले पैसा दिएनन् ।

फागुन १८ गते पराजुलीले एकाएक ‘इट विल टेक टाइम सर, आइ विल इन्फर्म यु’ भन्दै जवाफ पठाए । त्यसपछि फागुन २५ गते ‘स्टिल एट पोखरा, कल यु सुन’, चैत ९ गते ‘आई कल यु आफ्टर अराइभ्ड टु केटीएम’, वैशाख ७ गते ‘अर्को हप्ता सर’, वैशाख १८ गते ‘अब चाँडै भेट होला, सर’, जेठ १ गते ‘खबर गर्छु हजुर, समय लिँदै छन्’, जेठ ४ गते ‘अलिकति नआत्तिनुहोला, समय लाग्छ, मैले पहिल्यैं भनेको थिएँ हजुरलाई’, र जेठ १२ गते ‘साउन १५ पछि’, भन्दै म्यासेज पठाएका छन् । उनले महिलाको नम्बरबाट फोन गरेर ग्रीन सिटी अस्पतालपछाडि भेट्नसमेत बोलाएको उपाध्याय बताउँछन् । कार्यक्रम पास भएकै छैन भनेर कैयौंपटक झुक्काए पनि । ‘मलाई साह्रै अप्ठेरो परेर पैसा मागेको थिएँ । कहिले कार्यक्रम पास भएकै छैन भन्ने, कहिले के भयो भनेर झुलाउने । उहाँले मलाई धेरै नै तनाव दिनुभएको छ । पारिश्रमिक त पाइन तर दिएको तनाव नसहन नसकेपछि कानुनी उपचारको बाटोमा गएको छु्’, उनले भने ।

उपाध्यायका अनुसार पराजुलीले तीन लाख १५ हजार रूपैयाँ दिनुपर्ने छ । अति नै भएपछि गत जेठ ४ गते वडाध्यक्ष रामकाजी गुरुङ्गलाई सम्पर्क गरे । पोल त्यतिबेला खुल्यो जब वडाध्यक्ष गुरुङ्गले उनी पैसा नै लिन नआएको बताए । यता, पराजुलीले उनलाई सरकारी काममा ढिलासुस्ती हुन्छ भनेर टारिरहेका थिए । त्यस्तै, उनले जेठ २४ गते ‘ईम्पोर्टेन्स अफ एसएमई फर ट्रेड एण्ड एग्रिकल्चर सेन्टर’ नामक उपाध्यायको लेख आफ्नो नाम हालेर प्रकाशित गरेकोसमेत पाइएको छ ।

पराजुलीले मुख्यमन्त्री, मेयर र वडाध्यक्षलाई लेख्नुपर्ने चिठीसमेत उपाध्यायबाटै लेखाएका थिए । सबै काम गरिदिँदासमेत पैसा नदिएपछि उपाध्यायले महासंघमा औपचारिक उजुरी दिएको र त्यसलगत्तै उनले आफ्नो फोनको स्वीच अन गरेका हुन्् । उनले उपाध्यायलाई फोन गरेर ६ महिनापछि भेट्न बोलाएका थिए । असोज ९ गते महासंघले बैठक डाक्यो । तर, उक्त बैठकमा अध्यक्ष पराजुलीलाई बोलाइएनन् । जानकारी नै नदिएका पराजुली पनि त्यहाँ टुप्लुक्क आइपुगे । शुरुमा उपाध्यायलाई नचिन्ने दाबी गर्दै आएका थिए ।

उपाध्यायले सबै प्रमाण पेश गरेपछि दुई दिनभित्र रकम दिने बताए । तर, यत्तिका दिन बित्दासमेत उपाध्यायको हातमा एक रूपैयाँ पनि परेको छैन । उनले गत असोज २५ गते केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरीमा पराजुलीविरुद्ध उजुरी दिएका छन्् । आफ्नो बौद्धिक चोरी गरेको, श्रमको पारिश्रमिक नदिएको र मानसिक तनाव दिएको उनको आरोप छ । पर्यटन व्यवसायी हरिभक्त पराजुलीलाई पक्राउ गर्ने र छोड्ने कार्य वर्षौंदेखि चलिरहेकै छ । उनले अध्ययनका लागि अमेरिका पठाइदिने भन्दै लक्ष्मी थपलियाबाट ४२ लाख ११ हजार रूपैयाँ लिएका थिए । तर, पठाउन नसकेपछि लक्ष्मीले पैसा फिर्ता मागिन् ।

उनले रकम नभएको नेपाल एसबिआई बैंकको चेक काटेर दिए । लक्ष्मीले खाली चेकबारे बताउँदा पराजुलीले ‘जे गर्न सक्छस्, त्यही गर’ भन्दै धम्क्याए । त्यसपछि उनले उच्च अदालत, पाटनमा बैकिङ्ग कसूरको मुद्दा दायर गरिन् । उच्चको वाणिज्य इजलाशले २०७५ असार १७ गते ४२ लाख ११ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएको थियो । उच्चको उक्त आदेशविरुद्ध पराजुली सर्वोच्च अदालत गए । उनी गत भदौ २१ गते ललितपुरको पुल्चोकबाट ईसेवाको दुरूपयोग गरी महासंघको रकम हिनामिना गरेबापत समातिएका थिए । एकाध दिनमै छुटे । बैकिङ्ग कसूरको मुद्दा हुँदा नै उनी चीन, भारत घुमेर आएका थिए । काम लगाउँदै पैसा नदिएको भनेर धेरै गुनासा आएका छन्’, महासंघका एक पदाधिकारीले भने ।

पराजुलीलाई निलम्बन गरिसक्यौंः महासंघ

साना तथा मझौला व्यवसायी महासंघले पराजुलीलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।  स्रोतले  गत असोज ९ गतेको बैठकले उनलाई निलम्बन गरेको जानकारी दिएको छ  ।

 

टिप्पणीहरू