रातारात कसरी नोट छाप्छन् यी बिचौलियाले ?
कुनै पनि मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रलाई टुप्पोबाट पलाएका र रातारात अकुत सम्पत्तिको मालिक बनेकाले नराम्ररी चुस्ने गरेको पाइन्छ । त्यस्ताले मुलुकको राजनीतिलाई विकृत, अर्थतन्त्रलाई अप्ठेरो र व्यापारिक साम्राज्यको नाममा व्यावसायिक क्षेत्रलाई नै ध्वस्त पारेका धेरै उदाहरण छन् ।
विकसित मुलुकको तुलनामा गरिब र पछौटेपन व्याप्त समाजलाई टुप्पोबाट पलाएका धमिराहरुले कसरी ध्वस्त पार्छन् भन्ने उदाहरण नेपालको सन्दर्भमा बिचौलिया दिपक भट्ट बनेका छन् । उनको पछिल्ला दुई दशकका गतिविधिले पनि त्यसलाई पुष्टि गरिसकेको छ । सरकारी कोषको दुरुपयोगसँगै भ्रष्टाचारमा डामिएका चतुर्भुजको छोरो दिपकका कारण धेरै सरकारी कर्मचारीलेसमेत जेलको बास रोज्न परेको छ ।
दिपक कृषि सामाग्री संस्थानका तत्कालीन महाप्रबन्धक चतुर्भुज भट्टका छोरा हुन् । त्यतिबेला संस्थानले बेलैमा ल्याउनुपर्ने मल नल्याएको तर सोबापतको रकम ठेकेदारलाई करोडौं रकम भुक्तानी गरेकाले घोटाला गरेको प्रमाणित भएपछि चतुर्भुज जेल परे । उनै अपराधिक मानसिकता र भ्रष्टाचारको उद्देश्य बोकेका सरकारी कर्मचारीको छोरो दिपकको दुई दशकदेखिको दिनचर्या अहिले राष्ट्रियपछि अन्तर्राष्ट्रिय खेलोफड्कोमा व्याप्त छ ।
उनी रातारात धनी हुनुको रहस्यहरु माथि उल्लेख गरिएका बाहेक अरु के हुनसक्छ ? भट्ट आफ्नो कर्तुतबारे खासै बोल्न चाहँदैनन् भने राज्यले उनका कर्तुतलाई नसुनेको र नदेखेझैँ गरिदिन्छ ।
दिपक उनै हुन् जसले नेपाली राजनीतिक विभिन्न समयका खेलाडीहरु वामदेव गौतमदेखि आरजू देउवासम्म र केपी ओलीदेखि माओवादी नेताहरुसम्म सम्बन्धको साम्राज्य बनाएका छन् । नेताहरुमध्ये कसैलाई बा,कसैलाई दाइ र कसैलाई भाउजूको नाता लगाउन खप्पिस छन् । विशेष सम्बन्ध कायम राखेका नेताहरुको सामाजिक खर्चलगायत विदेश जाँदाको टिकट,होटल र किनमेल खर्चको जोहोसमेत आफ्नै सौजन्यमा हुने गरेको भट्ट स्वयमले यदाकदा बताउने गरेको उनी निकटस्थहरुले जानकारी दिएका छन् ।
यही सेरोफेरोमा तीन वर्षअघि दाइ सुशील भट्टलाई अनेक जोडबलमा लगानी बोर्डको सिइओ बनाएका उनले राजधानीका महत्वपूर्ण स्थानका जग्गा र जमिनसमेत हात पार्न थालेका छन् । फिस्टेल एअरका त्यो बेलाका मालिक विकास राणाको ललितपुर,लामाटारको पाँच सय रोपनी जग्गाको लालपुर्जा ४० करोडमा आफ्नो बनाइसकेका छन् । आम्दानीको स्रोत देखाउन नपर्ने र कर चुक्ताको कागजात सक्कली नचाहिने उनी राज्यको निम्ति विशेष पात्रमा दर्ज भइसकेका छन् ।
ललितपुरको सानेपास्थित किरण भवनको १० रोपनी जग्गा पनि यसबीच फुत्काएको बताइन्छ । पूर्व युवराज पारस शाहका साथी प्रगुन राणाको परिवारको उक्त जग्गा सिपकले सजिलैसँग हात लगाएका हुन् । प्रगुन हाल अमेरिका बस्छन् । राणाकी आमालाई पाठेघरको क्यान्सर भएपछि विभिन्न बहानामा लट्टीपट्टी पारेर १० रोपनी जग्गासहित फुत्काइएको त्यही राजश्री हैसियतको कम्पाउण्डमा चतुर्भुजका बाउ- छोरा रजगजका साथ बसेका छन् ।
हालै दरबारमार्गस्थित अन्नपूर्ण होटल पछाडिको भाग ४ अर्बमा किनेका छन् । अग्रवाल मारवाडीका बाउछोराहरु शंकर,साहिल र सुलभहरुलाई बसमा पारेर मुलुकमा दोस्रो स्टक एक्सचेञ्च खोल्ने भन्दै भट्टले अर्को प्रपञ्चमा अरबौं लगानी गरेको खुलेको छ । तर, यी सबै लगानी र सम्पत्ति जोड्ने क्रममा उनको खर्चको वैधानिकता पुष्टि गर्न राज्यले आवश्यक ठानेको पाइएको छैन ।
चीन,भारतजस्ता विशाल अर्थतन्त्र र ठूला देशमा एउटा मात्रै स्टक सञ्चालनमा छ । तर सानो अर्थतन्त्र भएको नेपालमा दुई वटाको जरुरत देखाउँदै लाइसेन्स फुत्काउनुको उद्देश्य सजिलै बुझ्न सकिन्छ । सरकारको लगानी रहेको हालको नेपाल स्टक एक्सचेञ्जको हविगत पनि यही तालले आगामी केही वर्षमा तत्कालीन खाद्य संस्थानकोजस्तै हुने पक्का छ ।
सतहमा कहीं कतै व्यवसायीको रुपमा नदेखिने तर पर्दाभित्र बसेर सबै काम फत्ते गर्दै आएका भट्टले नेपालमा हेनेकन बियरको आधिकारिक एजेन्टको प्रमाणपत्र लिएका छन् । उनैले सेनाको हेलिकोप्टर खरिदमा बिचौलियाको भूमिका निभाउँदै आएका छन् । ठूला हाइड्रोमा लगानी जुटाउने भन्दै आफ्नो हात माथि पार्न उनी खप्पिस बनेका धेरै घटना यसअघि नै सार्वजनिक भएका छन् । सेना,प्रहरी र दंगा नियन्त्रणमा आवश्यक बन्दुक, मेशिन,दमकल,गोलीगठ्ठा खरिदमा वर्षौंदेखि उनैको हालीमुहाली छ । अरुले उक्त व्यवसायतिर चियाउन समेत पाउँदैनन् ।
यी सबै ताण्डवपछि केही समयअघि उनी सम्पत्ति शुद्धिकरणमा तानिए । उक्त मामिलामा अरु भए जेलमा कोचिन्थे तर भट्टलाई सानेपाको आलिशान घरमा बस्न राज्यले छुट दियो । सोही क्रममा उनको सम्पत्ति शुद्धिकरणमा देखिएको अपराधलाई एकाएक वैधानिक तुल्याइयो ।
राज्यले बैंक,लघुवित्त,बीमालगायत व्यवसायमा धेरै वटा एकाघर र एउटै व्यापारिक घरानालाई स्वीकृति दिएको छ । तीमध्ये दिपक भट्ट पनि एक हुन् । उनी रातारात धनी हुनुको रहस्यहरु माथि उल्लेख गरिएका बाहेक अरु के हुनसक्छ ? भट्ट आफ्नो कर्तुतबारे खासै बोल्न चाहँदैनन् भने राज्यले उनका कर्तुतलाई नसुनेको र नदेखेझैँ गरिदिन्छ । यी र यस्तै खालका घटनाक्रमले मुलुक क्रमशः अधोगतिमा गएको यथार्थ खुलेको छ । तर पनि थप कारण खोज्न अब धेरै घोत्लिनुपर्ला र ?
टिप्पणीहरू