बाइबल कलेजका कर्मचारीमाथि निर्घात कुटपिट, अध्यक्ष विदेश भ्रमणमा

बाइबल कलेजका कर्मचारीमाथि निर्घात कुटपिट, अध्यक्ष विदेश भ्रमणमा
सुन्नुहोस्

ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीअन्तर्गतको बाइबल कलेजमा कार्यरत कर्मचारीमाथि निर्घात कुटपिट भएको छ । 

विद्यार्थीबाट मिशन कोरडिनेटर हुँदै हाल लाइब्रेरी डिपार्टमेण्टमा कार्यरत सोम लामालाई कलेजका बोर्ड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले कुटपिट गरेको बताइएको छ । 

कलेजको ६ रोपनी तीन आना जग्गा हिनामिना र आर्थिक अपचलनको विषय बाहिर जाने डरले असोज ३० गते दिँउसो १ बजे कलेज हाताभित्र उनीहरुले लामालाई गम्भीर घाइते हुनेगरी पिटेका हुन् । जग्गा विवादबारे सोधपुछ गर्ने क्रममा कुटपिट गरी सख्त घाइते बनाएको पीडित पक्षले जनाएको छ । 

चियाको बहाना बनाएर कलेजको कोठामा थुनेर अश्लिल शब्दको प्रयोग गर्दै लाठीले टाउको र खुट्टामा कुटेको उनीहरुको भनाइ छ । कुटपिट गर्ने समूहविरुद्ध आइतबार सार्वजनिक अपराधको मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए । 

उनीहरुले केही महिनाअघि कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोग गरेर सांघातिक हमलासमेत गरेको पीडित लामाले बताए । उनका अनुसार बोर्ड सदस्य जोशी, सबिना थापा, प्रिन्सिपल लामा र उनका भाइले ज्यान मार्ने धम्की दिएका छन् । 

‘त्यो दिन उहाँले चिया खान जाऊँ भन्नुभयो र म कोठाभित्र गए । कलेजको जग्गामा तपाईंको के भूमिका भन्दै गाली गर्नुभयो । त्यसपछि उहाँ र उहाँको समूहले मलाई कुटपिट गरे । म अर्धचेत भए’, उनले भने । 

सुनियोजित रुपमा ज्यान लिने तरिकाले लाठी र हतियारको प्रयोग गरी कुटपिट गरेको उनले बताए । यता, उनका भाइ सुरेशकुमार योञ्जनले दाजुको शरीरभरि नीलडाम रहेको बताए । दाजुको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको उनको भनाइ छ । 

कलेजका अध्यक्ष मंंगलमान महर्जन भने आफूलाई केही जानकारी नभएको भन्दै पन्छिन खोजेको छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएको केही दिन बित्न नपाउँदै उनी इन्डोनेसिया भ्रमणमा निस्किएका छन् । 

इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पीटरले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । सो घटनाले समग्र ख्रीष्टियन समाज नै चिन्तित बनेको उनको भनाइ छ । त्यस्तै, पीडित परिवारले दोषीउपर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन आग्रह गरेको छ । 

धार्मिक प्रयोजनका लागि किनिएको जग्गामा व्यक्तिको रजाइँ

नेपालमा इसाईं धर्मको ईश्वरशास्त्रीय अध्ययनमा सहयोग गर्ने उद्देश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका प्रतिनिधिका रुपमा साउथ कोरियाबाट आएका डा. सङ्ग हो लीले सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए । 

उनले कलेजको प्रयोजनका लागि ६ रोपनी तीन आना जग्गा खरिद गरेका थिए । साइमन पीटरको नाममा रहेको सो जग्गालाई आफ्नो नाममा ल्याउन नेपाल राष्ट्रिय मण्डली संगतिका तत्कालीन अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनले ठूलो षडयन्त्र गरेको स्रोतको भनाइ छ ।

जग्गाका लागि साइमन पीटरलाई ज्यान मार्ने धम्कीसमेत दिइएको थियो । मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ, मुकुन्दकुमार खड्काको नाममा सो जग्गा छ । खड्काको निधन भएपछि उनका छोराले हकदाबी गरी मुद्दा मामिलाबाट दुई रोपनी तीन आना जग्गा आफ्नो नाममा लगेका छन् । 

कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आएको जग्गामा व्यक्तिको रजाइँ चलेको हो । तर, सम्बन्धित निकाय भने बेखबरझैं छन् । धर्मनिरपेक्षताको आडमा पछिल्लो समय अल्पसंख्यक ख्रीष्टियन धार्मिक समूहले अपचलन र अपारदर्शिताको जालो फैलाइरहेको आरोप पनि छ ।

टिप्पणीहरू