राजधानीमा नक्कली नोटको बिगबिगी, कारोबारमा अधबैंशे महिला सक्रिय

राजधानीमा नक्कली नोटको बिगबिगी, कारोबारमा अधबैंशे महिला सक्रिय
सुन्नुहोस्

राजधानीमा पछिल्लो समय जताततै नक्कली नोट भेटिन थालेका छन् । नक्कली एक हजार दरका नोटका कारण सर्वसाधारण बजारमा नोटको कारोबार गर्न हच्किन थालेका छन् ।

सोही क्रममा प्रहरीले नक्कली नोटसहित दुई जना महिलालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेकामा शंखरापुर नगरपालिका–७, कोलागाल बस्दै आएकी सिन्धुपालचोक जलबिरेकी

४९ वर्षीया सिर्जना थापा हुन् । त्यसैगरी बूढानीलकण्ठ नगरपालिका–१२,  कपन बस्दै आएकी ओखलढुंगाको कुईबीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाकुमारी घिमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान अर्थात एक लाख चालिस हजार र कुमारीको साथबाट १ हजार दरका २१ थान
नक्कली नोट बरामद भएको जनाएको छ । उनीहरुले नक्कली नोटको कारोबार गर्ने गरेको सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको सक्रियतामा पक्राउ परेका हुन् ।

सिर्जनालाई प्रहरीले गएराति शंखरापुर नगरपालिका–७, कोलागालबाट र मैया कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२, कपनस्थित निलोमाईक्रो पार्क नजिकबाट पक्रेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू