राष्ट्रियसभा सदस्य निर्वाचनमा नयाँ मतभार कायम

राष्ट्रियसभा सदस्य निर्वाचनमा नयाँ मतभार कायम

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार कायम गरेको छ । आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसारको कूल जनसंख्यालाई आधार मानेर मतभार कायम गरेको जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदै छ । त्यस्तै, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । 

सोही ऐनमा राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्ने निर्वाचन मण्डल (प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था उल्लेख छ । 

आयोगले हालै सम्पन्न २०७८ सालको जनगणनाका आधारमा प्रदेशसभा सदस्यका लागि ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको लागि १९ मतभार कायम गरेको जनाएको छ । 

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका लागि १८ रहेको थियो ।

टिप्पणीहरू