भ्रष्टाचारमा पूर्व उपमेयरसहित नौ जनाको मिलेमतो

भ्रष्टाचारमा पूर्व उपमेयरसहित नौ जनाको मिलेमतो

सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालिन उपप्रमुख सविनाकुमारी चौधरीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी, सबइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यस्तै, वडा नम्बर ३ का तत्कालिन वडाध्यक्ष राजकुमार चौधरी, वडासदस्य टिकालक्ष्मी श्रेष्ठ, योजना शाखा सहायक पाँचौं तहका सुनिलकुमार चौधरी र जालपासिद्ध निर्माण सेवाका प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

रामधुनी नगरपालिका–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा अनियमितता भएको अख्तियारको आरोप छ । 

आयोगले अनुसन्धानका क्रममा गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेर दुई लाख १२ हजार ७३ रुपैयाँ भुक्तानी दिएको पाएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख १२ हजार ७३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

टिप्पणीहरू