राप्रपा नेताको दाउ : रकम नभएको चेक दिने, घर जग्गा हडप्ने

राप्रपा नेताको दाउ : रकम नभएको चेक दिने, घर जग्गा हडप्ने
सुन्नुहोस्

- यदुनाथ बञ्जारा

कास्कीका राप्रपा नेता महेन्द्रबहादुर कार्की चेक अनादर मुद्दामा पक्राउ परेका छन् । उनले दिएको नबिल बैंकको तीन करोड रुपैयाँको चेक  नसाटिएपछि उनीविरुद्ध जिल्ला प्रहरी  कार्यालय  कास्कीमा चेक अनादर मुद्दामा किटानी जाहेरी परेको थियो । 

सोही जाहेरीको आधारमा मसिर २ गते शनिबार उनकै घरबाट पक्राउ गरेर प्रहरीले हिरासतमा लिएको हो । उनलाइ मसिर ४ गते कास्की जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धान नपुगेको जनाउँदै मंसिर १० गते पुनः ७ दिनको म्याद थप गरेको जनाइएको छ ।

महेन्द्रबहादुर राप्रपाका केन्द्रीय सदस्य हुन् भने गत वर्षको प्रदेश सभा सदस्य चुनावमा कास्की क्षेत्र नम्बर १ (१) बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उनी नेकपा एमालेका श्याम गुरुङसँग पराजित भएका हुन् । 

राजनीतिमा फड्को मार्दै गएका कार्की एकाएक चेक अनादर जस्तो फौजदारी मुद्दामा कानुनको फन्दामा परेका छन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने आदर्श बोकेर राजनीतिमा होमिएका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको पार्टीका केन्द्रीय सदस्यले सर्वसाधारणलाई खातामा रकम नभएको चेक दिएर अरुको घर जग्गा सित्तैंमा कब्जामा खोज्नुले कास्कीमा राप्रपाका धज्जी उडेको छ । 

कार्कीको हिरासत यात्रा :

पोखरा १० बस्ने महेन्द्रबहादुर कार्की पोखराका पुराना धनाढ्यको रुपमा चिनिन्छन् । प्रशस्त जग्गा र सम्पत्ति भएको कार्की खान्दानका धेरैजना मध्येका एक हुन महेन्द्र । पञ्चायतकालमा राजाको विश्वास जितेर जिल्ला सभापति बनेका उनलाई राजावादी भनेर चिनिएको राप्रपाले विश्वासका साथ केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

२०७८ सालको सुरुमा पोखरा ८, आलुमाइला चोकमा रहेको कित्ता नम्बर ७८ को १४० वर्गमीटरमा बनेको साढे २ तले घर खरिद गर्न कार्की राजी भए । तीन करोड रुपैयाँको घर श्रीमती प्रभा कार्कीको नाममा पास गर्ने टुङ्गो लाग्यो । 

तर घरधनीलाई नगद नारायणको नाममा सुको नदिई प्राइम कमर्सियल बैंकको तीन करोडकै चेक दिएर घर जग्गा श्रीमतीको नाममा पास गर्न कार्की सफल भएका थिए । नाम चलेको नेता, हुनेखानेको बिल्ला भिरेका  उनलाई घर बिक्री गर्न लागेकाले पूरा विश्वास गरे । महेन्द्रको नामको खाताको चेकको विश्वासको भरमा घरधनीले एकाएक मालपोतमा गएर पास गरिदिएका थिए । 

चेकको म्याद आयो गयो तर चेक साटिएन । पटक पटकको प्रयासको बाबजुद चेक साट्न नसकिएपछि म्याद गुज्रियो । कार्कील पुरानो चेक खिचेर नबिल बैंकमा खाता रहेको तीन करोडकै अर्को चेक दिए । तर रोग उहि पुरानै दोहोरियो ।

घरजग्गा बिक्री भएको दुई वर्ष बितिसक्दा पनि एक रुपैयाँ पैसा हात नलागेपछि पीडितले कानुनी उपचार खोज्दै जिल्ला प्रहरी कार्यालय गुहारेका हुन् । उनले चेक बाउन्स मुद्दामा जाहेरी दिएपछि राप्रपा नेता महेन्द्र यतिखेर प्रहरी फन्दामा परेका छन् । 

यतिखेर पनि उनले पैसा नतिर्ने बरु अनेक प्रयासमा उम्कने प्रयास गरेको पीडितको बुझाई छ । यतिखेर महेन्द्रको परिवारमा सम्पतिको आवरणमा किर्ते कलह ब्युँतिएको छ । घरजग्गा लिने श्रीमती र चेक दिने श्रीमान महेन्द्र कार्कीबीच विभिन्न तानाबाना बुनिएको बताइन्छ । 

खातामा पैसा नभएको चेकको भरमा खरिद गरिएको घर जग्गा सहकारीमा धितो राखेर लिएको रकम कस्ले कहाँ खेलाए अहिले कार्की दम्पत्तिलाई मात्रै थाहा छ । तर घरजग्गाको करोडौं रुपैयाँ नपाएपछि पीडित पक्ष मृत्यु रोज्नुपर्ने अवस्थामा पुगेको बताइन्छ । तरपनि अदालतले गर्ने फैसलाले दुधको दुध, पानीको पानी बनाउने आशमा उनीहरु अल्झेका छन् ।

टिप्पणीहरू