मोटरसाइकल चोरको बिगबिगी, आधा दर्जन पक्राउ

मोटरसाइकल चोरको बिगबिगी, आधा दर्जन पक्राउ
सुन्नुहोस्

प्रहरीले मोटरसाइकल चोरीको आरोपमा छ जना पक्राउ गरेको छ । ललितपुरबाट चार जना र बाँकेबाट दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ललितपुरका विभिन्न स्थानबाट चार वटा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले मकवानपुरका विजय श्रेष्ठ, अमित लामा, पासाङ लामा र रौतहटका पञ्चलाल ब्लोकलाई पक्रेको हो । 

ललितपुर महानगरपालिका–१५, खुलमटार हाईटस्थित गल्लीबाट गत बुधबार राति बा.प्र.०२–०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाइराखेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्रेको थियो । 

सोधपुछको क्रममा टोलीको मिलेमतोमा बा.प्र.०३१ प ५८१४, बा.प्र.०२–०४५ प ९५९२, बा.प्र.०२–३७ प ०८६२ र बा.८२ प ७१२४ नम्बरका मोटरसाइकल ललितपुरकै विभिन्न ठाउँबाट चोरिएको खुलेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर कि, स्टार्ट गर्ने तारसहितको प्लक, साबुत साँचो एक थान, भाँचिएको साँच एक थान र हेल्मेट एक थान फेला परेको बताइन्छ । 

बाँकेमा पनि मोटरसाइकल चोरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय अजयसिंह बाडिया र सोही उपमहानगरपालिका–९ बस्ने रमेश भन्ने हरि सुनार समातिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरुलाई स्थानीय जनता ग्यारेज अगाडिबाट चोरिएको मोटरसाइकलको रङ परिवर्तन गरेर प्रयोग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 

टिप्पणीहरू