१० हजार प्रहरीमाथि कारबाही, फोटोदेखि भिडियो खिच्नेसम्म बाँकी नरहेको दाबी

१० हजार प्रहरीमाथि कारबाही, फोटोदेखि भिडियो खिच्नेसम्म बाँकी नरहेको दाबी
सुन्नुहोस्

ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद मंगलबार घुससहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जबाट खटिएको टोलीले असई साउदलाई ३० हजार घुससहित पक्रेको हो । 

लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग उक्त रकम अर्थात् घुस लिएको आयोगको दाबी छ । असई साउदमाथि आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि अपराधीलाई बेपत्ता पारेको आरोपमा दुई प्रहरी कर्मचारी हिरासतमा पुगेका थिए । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई बेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु हिरासतमा पुगेका हुन् । 

उनीहरुले कुटपिट गरेको आरोपमा तामाङलाई थुमनबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भीरबाट बेपत्ता बनाएको आरोप लागेको थियो । 

सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको मुद्दामा दोषी ठहर भएपछि हाललाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकोमा तोकिएको जनही छ लाख ६० लाख धरौटी राख्न नराख्दा उनीहरु कारागार चलान भएका हुन् । 

गत असोज २१ गते काठमाडौंको महाराजगञ्जस्थित भएको लुटपाटमा नेपाल प्रहरीका तीन कर्मचारीसहित पाँच जनाको संलग्नता रहेको खुल्न आयो । ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा प्रहरी सहायक हवल्दार खगराज अधिकारी, प्रहरी जवान भुवन बराल र प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ पुर्पक्षका लागि जेल पुगेका हुन् । 

यता, भिजिट भिसामा विदेश जानेहरुको नक्कली कागजपत्र बनाउन सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवलाल तामाङ गत कात्तिक २१ गते पक्राउ परे । 

सहकर्मी महिला हवल्दारमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दोषी ठहर भएपछि प्रदेश प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले गत असोज १३ गते राजीनामा दिएका थिए । 

बिदामा जान लागेकी महिला हवल्दारलाई उनले सरकारी निवासमै बोलाएर ‘गुड फ्राइडे’ मनाउन प्रस्ताव गरेका थिए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन समिति नै बनाएको थियो । 

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि राजीनामा दिएका हुन् । पछिल्लो समय अपराधीलाई कारबाही गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुने गरेको केही घटनाले पुष्टि गरेको छ । सहकर्मीलाई यौन दुव्र्यवहार गर्नेदेखि तस्करलाई सघाएको अभियोगमा गत आर्थिक वर्ष २०७९÷८० मा मात्र दुई हजार २४ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । 

आर्थिक वर्ष २०७८÷७९ मा भने एक हजार आठ सय ६० प्रहरी कर्मचारी कारबाहीको भागेदार भएका थिए । आर्थिक वर्ष २०७७÷७८ र ०७६÷७७ मा क्रमशः एक हजार नौं सय ८२ र एक हजार नौं सय ७२ प्रहरी कर्मचारी कारबाहीमा परेको हेर्डक्वार्टरको तथ्याङ्कले देखाउँछ । 

त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार ३२ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए । तथ्याङ्कअनुसार विगत पाँच वर्षको अवधिमा नौ हजार आठ सय ७० प्रहरी कर्मचारी कारबाहीको दायरामा परेका हुन् । 

गल्ती गर्ने प्रहरी कर्मचारीलाई कारबाही गर्नुको साटो कतिपयलाई संगठनले उन्मुक्ति दिनेलगायतका कारणले पनि प्रहरीहरु अपराधमा संलग्न हुने क्रम बढेको बताइन्छ । यस्तै, व्यक्तिगत लाभ र रातारात धनी बन्ने उच्च महत्वाकांक्षा, राजनीतिक चलखेलजस्ता कारणले पनि यो क्रम बढेको प्रहरी अधिकारीहरुको बुझाई छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत प्रहरीको बढ्दो संख्या र जिम्मेवारीसँगै कारबाहीमा पर्नेको संख्या पनि बढेको बताउँछन् । ‘कारबाहीमा पर्ने प्रहरी कर्मचारी अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी छन् । तर, उनीहरु ‘जिरो टोलरेन्स’ नीतिअन्तर्गत कारबाहीमा परेका हुन्,’ उनले दाबी गर्दै भने ।

कारबाही परेकामध्ये अधिंकाश तोकिएको समयभित्र कार्यालय नआएको, डयुटी समयमा सामाजिक सञ्जालको प्रयोग गरेको, प्रहरी पोशाकमा फोटो तथा भिडियो खिचेको कारण कारबाहीमा परेको प्रवक्ता कडायतको दाबी छ । 

यस्ता गतल प्रवृत्तिलाई कम गर्न समय समयमा प्रहरी कर्मचारीहरुलाई आवश्यक तालिम, परामर्श र प्रहरी आचरणको बारेमा जानकारी गराउँदै आएको समेत मुख्यालयका अधिकारीहरु बताउँछन् ।

टिप्पणीहरू