रोकिएन वैदेशिक रोजागारीको नाममा ठग्ने प्रवृत्ति

रोकिएन वैदेशिक रोजागारीको नाममा ठग्ने प्रवृत्ति
सुन्नुहोस्

वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका थप तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्ने भवानी बोहरा, दिपेश बास्कोटा र लक्ष्मी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 

ललितपुरको महालक्ष्मीस्थान बस्दै आएकी ४६ वर्षीया भवानीले वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने आश्वासन दिएर ठगेकी हुन् । उनी क्रोएसिया जान प्रतिव्यक्ति १० लाख लाग्ने र मासिक एक लाख २० हजार तलब हुने प्रलोभनमा दुई लाख उठाएपछि सम्पर्कविहीन भएकी थिइन् ।

उता बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय दिपेशले त्यस्तै प्रलोभनमा लाखौं रकम ठगेको पाइएको छ । सर्बिया जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक एक लाख तलब हुने बताउँदै पीडितहरुबाट पटकपटक गरेर १७ लाख १७ हजार तीन सय उठाएपछि उनी पनि फरार भएका थिए । 

काठमाडौं महानगरपालिका–१३, बाफल बस्ने २९ वर्षीया लक्ष्मीले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने नाममा ठगेको खुलेको छ । उनी पनि छ लाख आठ हजार उठाएपछि सम्पर्कविहीन भएकी हुन् ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको छ ।

टिप्पणीहरू