नेपाल हुँदै भारत, साधुको भेषमा अमेरिकीको ओभरस्टे

नेपाल हुँदै भारत, साधुको भेषमा अमेरिकीको ओभरस्टे

नेपाल घुमेर भारततर्फ गएका एक जना अमेरिकीलाई जेल सजाय दिइएको छ । ४० वर्षीय एरिक डानियल बेकविथलाई दुई वर्षको जेल सजाय तोकिएको बताइएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार उत्तर प्रदेशको लखनउस्थित एउटा अदालतले अवैध तवरले भारत छिरेको अभियोगमा उनीमाथि उक्त सजाय दिएको हो । बेरिक गत मार्चदेखि महाराजगञ्ज जेलमा छन् । उनले अध्यागमन कानुनलगायत अन्य धेरै वटा नियमको बर्खिलाप गरेको भारतीय अधिकारीहरुले बताए।

रिहाइको निम्ति अमेरिकी नागरिक बेकविथले हालेको निवेदन अस्वीकार गर्दै भएको आदेशमा दुई वर्ष काराबास सजाय तोकिएको छ । उनी नेपाल–भारत सीमानास्थित सुनौली नाकामा सन् २०२३ को मार्च २९ का दिन पक्राउ परेका थिए । उनीमाथि म्याद सकिएको भिसा बोकेर भारत छिरेको आरोप छ ।  

उनी सन् २०१८ को जुनमा भिसा लिएर केही दिन भारत घुमेपछि घर फर्केका थिए । त्यही बेला सुनौली नाका हुँदै नेपाल  छिरे । बीचमा सन् २०२१ मा पनि पर्यटक भिसामा भारत भ्रमणमा गएको उल्लेख छ । त्यसबेला भीसाको म्याद सकिए पनि केही समय साधुको भेषमा प्रयागराज र अन्य स्थानमा घुमेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यताबाट नेपाल आएका उनी गत मार्चमा फेरि भारत जाँदा पक्राउ परेका हुन् ।

टिप्पणीहरू