पाँच करोड खान नदिँदा पक्लक्क

पाँच करोड खान नदिँदा पक्लक्क
सुन्नुहोस्

एउटै मेसिनमा पाँच करोड खाने दाउ तर ‘हलुवामा बालुवा’ बनिदिए सचिव, तिनैलाई पाखा लगाइदिएपछि टण्टै साफ !यस्तै खेलोमेलो चलिरहेको छ अहिले बाग्मती प्रदेशमा । साढे ४ करोड पर्ने सिटी स्क्यान मेसिन ९ करोडमा खरिद गर्ने गरी स्पेसिफिकेशन बनाउन राजी नहुँदा सचिवलाई फुटबल बनाएर मुख्यमन्त्री कार्यालयको बरण्डामा पुर्याइएको छ ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री (काँग्रेस संसदीय दलको नेतासमेत) बहादुरसिंह लामादेखि स्वास्थ्य मन्त्री उत्तम जोशीको इशारा नमान्दा प्रदेश सचिव मुख्यमन्त्री कार्यालयको करिडोर (जगेडा)मा पुगेका छन् । प्रसंग जोडिन्छ बहादुर सिंह लामाको गृहजिल्ला नुवाकोटमा अवस्थित त्रिशूली अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रकरणसँग । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले त्रिशूली, सिन्धुली र भक्तपुर अस्पतालमा झण्डै २४ करोड खर्चेर सिटी स्क्यान मेसिन राख्न खोज्दै छ । जबकि बजारमूल्य अनुसार यो मेसिन बढीमा १५ करोडमै राख्न सकिने बताउँछन्, जानकारहरू ।

नेपालमा यस प्रकारको सिटी स्क्यान मेसिन सप्लाई गर्ने काम ७ वटा कम्पनीले मात्र गर्दै आएका छन् । तर आफू अनुकूलको कम्पनीमात्र छिर्ने गरी स्पेकिफिकेशन तयार पारी प्रक्रिया अगाडि बढाइएपछि शुरुदेखि नै सचिव खड्का रुष्ट थिए । उनलाई बाइपास गर्दै प्रक्रिया अगाडि बड्यो । शुरुमा यो मेसिन त्रिशूली अस्पतालमा राख्न खोजिएको थियो ।

सचिवको तीव्र असहमति र असन्तुष्टिका बाबजुत प्रक्रिया अगाडि बढेसँगै खड्काले त्रिशूली अस्पतालका मेसुलाई स्पष्टिकरण मात्र सोधेनन् कि छानबिन समिति बनाउनुपर्ने अड्डी कसे । सोहीअनुसार मंसिर ७ गते डा. प्रतीक सिंहलाई पत्र काटे । खरिद प्रक्रियामा बदमासी भएको भन्दै बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इञ्जिनियर नेल्सन महतलाई सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाबारे अनुगमनका लागि खटाए ।

महतको टोलीले मेसिन खरिद प्रक्रियामै त्रुटि रहेको, प्राविधिक स्पेशिफिकेसन र टेण्डर प्रक्रियामा त्रुटि देखिएको प्रतिवेदन बुझाए । प्रतिवेदनमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको बोलपत्र संशोधन गरी विभिन्न बुँदा संशोधन गरेको देखिएको तर त्यसो गर्नुपर्ने कारण के–कस्ता हुन् भन्ने प्रष्ट रूपमा नदेखिएको उल्लेख छ । थप अनुसन्धान गर्न भन्दै अस्ति मात्र दशौं तहका चिकित्सकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति हेटौंडाबाट त्रिशूलीतिर रमाना भएको छ । 

यसरी बजार मूल्य साढे चार करोड भएको एउटै मेसिनबाट झण्डै चार करोड हाराहारी कमिसन खान खोज्ने प्रक्रियामा भाँजो हाल्न पुग्दा सचिव खड्का विभागीय मन्त्री, मुख्यमन्त्रीदेखि संसदीय दलको नेतासम्मको तारो बन्न पुगेको बताइएको छ । गत साता ७१ जना सहसचिवको सरुवा हुँदा उनलाई करिडोरमा पु¥याइएको हो । अहिले त्यहाँ दशौं तहका दीपक तिवारीलाई निमित्त तोकिएको छ । यता खड्का अदालतको ढोका ढक्ढक्याउने तयारी गर्दै छन् ।

भक्तपुरदेखि सिन्धुलीसम्म जोड्न लागिएको यो मेसिन खरिद प्रक्रियामा संघीय स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि उनकै बलले बाग्मती प्रदेशको मन्त्री बनेकी मसिना खड्का र भाइले बिचौलियाको काम गरिरहेको बताइएको छ । एकातिर सुशासनका चर्का कुरा, अर्काेतिर भ्रष्टाचार र अनियमितता रोक्न खोज्दा कर्मचारी कसरी सेकिन्छन् भन्ने यो त एउटा सानो उदाहरण मात्र हो । 


 

टिप्पणीहरू