छोरी मारिएको पीडा प्रधानमन्त्रीलाई सुनाउन पुगेका परिवार प्रहरी नियन्त्रणमा

छोरी मारिएको पीडा प्रधानमन्त्रीलाई सुनाउन पुगेका परिवार प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

रहस्यमय तवरले ज्यान गुमाएकी आरतीकुमारी साहको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको हरिहरभवनस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडिबाट मृतक साहका आमाबुवा र बहिनीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुलाई पुल्चोकबाट जिल्ला प्रहरी परिसर, ललितपुर पुर्याएको हो । राष्ट्रिय मानव अधिकार आयोगद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफ्ना पीडा सुनाउन उनीहरु त्यहाँ पुगेका थिए । तर ब्यानर राखेर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । 

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका–९ बस्दै आएकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको भन्दै माइतीपक्ष लामो समयदेखि माइतीघर र रत्नपार्कमा आन्दोलनरत छ । 

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । यद्यपि, आरतीको परिवारले आफ्ना सम्पूर्ण माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएको छ ।

टिप्पणीहरू