पर्वतमा श्रीमती पढाउने विद्यालयलाई पोसियो

पर्वतमा श्रीमती पढाउने विद्यालयलाई पोसियो

पर्वतको शिक्षा, विकास तथा समन्वय इकाइ प्रमुखले श्रीमती पढाउने विद्यालयलाई जोगाएर अर्को विद्यालयलाई मात्र निर्देशनसहितको पत्र पठाएको पाइएको छ । इकाइ प्रमुख उद्धिमराज पौडेलमाथि आफ्नी श्रीमती पढाउने विद्यालयलाई संरक्षण गरेको आरोप लागेको हो ।

कुश्मा नगरपालिका–१३, बकादीस्थित भगवती प्राथमिक विद्यालयलाई कोषको रकम बैंकमा राख्न निर्देशन दिँदै गर्दा उनले आफ्नी श्रीमती शिक्षिका रहेको खौलालाँकुरी माध्यमिक विद्यालयलाई भने पत्र पठाउन बिर्सिएका छन् । असोज १० गते उनले भगवती प्राविलाई पत्र पठाएका थिए । तर, लाखौंको फण्ड भएको खौलालाँकुरी माविलाई भने रकमबारे सोधपुछ गरिएको छैन । भगवती प्राविलाई विभिन्न स्रोतबाट प्राप्त चार लाख ३६ हजार ९९५ र अक्षयकोषबापतको एक लाख ५४ हजार ६२० रूपैयाँ बैंकमा राख्न इकाइले निर्देशन दिएको छ । 

विभिन्न स्रोतबाट प्राप्त रकम विद्यालयले सरकारी बैंकमा खाता खोली जम्मा गर्न सकिने तर व्यक्तिलाई लगानी गर्न नसकिने व्यवस्था रहेको तर त्यहाँ सो व्यवस्थाको बर्खिलाप गरी व्यक्तिलाई लगानी गरिएको पाइएकोले यथाशीघ्र असुलउपर गरी शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १६९ बमोजिम विद्यालयका प्र.अ. र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नाममा नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नुहुन’, पत्रमा उल्लेख छ । 

उक्त विद्यालयले बैंकमा खाता खोलेर कोषको रकम जम्मा गरिसकेको छ । यता, सबैभन्दा बढी फण्ड भएको खौलालाँकुरी माविलाई भने छोडिएको छ । उक्त माविमा ५०–६० लाखको कोष भएको स्रोतको भनाइ छ । विद्यालयको फण्डमा भएको रकम स्थानीयको ढाड सेक्ने गरी २४ प्रतिशत ब्याजमा ऋण दिइएको छ । 

पौडेलकी श्रीमती हिराकुमारी शर्मा खौलालाँकुरी माविमा नेपाली अध्यापन गराउने शिक्षिका भएकाले सो विद्यालयलाई छुट दिइएको स्रोत बताउँछ । उनकी श्रीमती यसअघि पढाउन छाडेर अमेरिका पुगेर आएकी थिइन् । अनुमतिबेगर विदेश पुगेकी उनले अहिले पनि जागिर खाइरहेकी छिन् । लामो समय विदेश हुँदाको तलबभत्ता पनि लिएकी थिइन् । यसबीच भगवती प्राविका प्रधानाध्यापक भानुभक्त सुवेदीको आग्रहमा पत्र लेखेको पौडेलको दाबी छ । हाल सुवेदीले नै आफूलाई बद्नाम गर्न खोजेको पौडेलको आरोप छ । 

खौलालाँकुरी माविविरुद्ध अख्तियारमा उजुरी परेकाले पत्र नपठाएको उनले बताए र भवन निर्माणमा अनियमितता, कोषको रकम दुरूपयोगलगायत चार–पाँच वटा उजुरी विद्यालयविरुद्ध परेको जानकारी दिए । उनी भन्छन्, ‘इकाइले कोषको रकम लगानी गर भनेको होइन । विद्यालय आर्थिक कारोबार गर्ने संस्था पनि होइन । आफ्नो व्यक्तिगत स्वार्थका लागि महंगो ब्याजमा विद्यालयको पैसा लगानी गर्ने अनि दोष हामीमाथि थुपार्ने ? 

 

टिप्पणीहरू