अध्यागमनका हाकिमको बयानपछि गिरोहका थप दुई जना पक्राउ

अध्यागमनका हाकिमको बयानपछि गिरोहका थप दुई जना पक्राउ
सुन्नुहोस्

अध्यागमन अधिकृतसँग सेटिङ मिलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाउँदै आएका दुई जनालाई प्रहरीले पक्रेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ परेकामा निमा छिरिङ ट्राभल्सका सञ्चालक काभ्रेपलाञ्चोकका ३७ वर्षीय मनोज तामाङ र नाताले उनका सालो एवम् कार्यालयका कर्मचारी रामेछापका ३३ वर्षीय पदम लामा हुन् ।

उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ्ग मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजारसम्म रकम लिएर विदेश उडाउन सहजीकरण गरिदिने गरेको तथ्य खुलेको थियो । खड्कासँगको सम्बन्धका आधारमा तीनसय जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबैलाई लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकू पठाइएको छ ।

टिप्पणीहरू