नेपालगञ्जबाट ल्याइएका अवैध मोबाइल पार्टस् काठमाडौं विमानस्थलमा फेला

नेपालगञ्जबाट ल्याइएका अवैध मोबाइल पार्टस् काठमाडौं विमानस्थलमा फेला

भारतबाट अवैध रुपमा ल्याइएको ठूलो परिमाणको मोबाइल पार्टस् काठमाडौं विमानस्थलमा फेला परेको छ । यति एअरको एनवाईटी ४२४ मा साँझ ६ बजे आएको उडानमा ती सामान फेला परेको हो ।

नेपालगञ्जबाट सुपर काइनेटिक कुरियरको मोबाइल नम्बर ९८४१२६३४८१ ठेगानाबाट पठाइएको मोबाइल पार्टस् बिलबिजक नभएको अवस्थामा फेला परेको हो । भन्सार छलेर ल्याएका ती सामान सुराकीको आधारमा राजश्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राई नेतृत्वको टोलीले फेला पारेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा नियन्त्रणमा लिइएको पार्टस्को तौल १५० किलो भएको बताइएको छ । १२ कार्टुनमा करिव १५ सय थान विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु रहेको बुझिएको छ । ती  सामान जय माँ दुर्गा इम्पेक्सको नाममा छ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा छ कार्टुन लेखिएको छ ।

बाँकेको जमुनाहा नाकाबाट पोका बनाएर नेपाल भित्र्याइएका ती पार्टस् धम्बोझी चोक नजिकैको एक स्टोरमा संकलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद सामानलाई सम्बन्धित व्यक्तिको रोहबरमा भोलि चेक जाँच गरेपछि चोरी निकासी पैठारी सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही अघि बढाइने विभागले जनाएको छ । यसका लागि सम्बन्धित आयातकर्ताले प्रज्ञापन तथा विल बिजक पेश गर्नुपर्ने छ ।
 

टिप्पणीहरू