नेताहरूको ट्रेकिङ

नेताहरूको ट्रेकिङ

एमाले यतिबेला पहाडतिर ट्रेकिङमा छ । अलि पहाडी बाटो भएकोले यसलाई ट्रेकिङ भन्नु राम्रो होला ।

नेताहरू कहिले हिमालतिर फर्केर फोटो खिचिरहेको, कहिले चिया खाइरहेको, कहिले ढिँडो खाइरहेको, कहिले फोनमा कुरा गरिरहेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । बाटोमा जाँदै गर्दा कहींकतै पार्टीका कार्यकर्ताहरू पनि भेटिने गर्छन् । कार्यकर्ता भेटिनु स्वाभाविकै हो । कार्यकर्ता भेटिएपछि यसो फूलमाला पनि लाइहाल्दा रहेछन् । 

एवंरीतले पार्टीको ट्रेकिङ चलिरहेको छ । एमाले नेताहरूको यो यात्राले देशको पर्यटन विकासमा टेवा दिने निश्चित छ । उहाँहरूले विभिन्न ठाउँका होटल र लजहरूको फोटो पनि पोष्ट गर्नुभएको छ । ती होटलहरूको कोठा भाडा पनि लेखिदिएको भए जान इच्छुक पर्यटकहरूलाई सजिलो हुने थियो । 

अहिले एमालेका नेता, कार्यकर्ता फुर्सदिला छन् । सरकारमा छैन, त्यसैले काम पनि छैन । पार्टीले अब जे होला, ८४ पछि देखा जायेगा भन्ने नीति नै लिइसकेको छ । त्यसैले सरकारको आलोचना पनि गरिरहनु परेन । त्यसैले फुर्सदको समयमा पहाडी मार्गको ट्रेकिङमा जाने भनी केन्द्रीय कमिटीले जुन निर्णय ग¥यो, त्यो ऐतिहासिक नै भएको छ । नेताहरूको समय, स्वास्थ्य र मनोरञ्जनका हिसाबले पनि यो उपयोगी नै हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।

टिप्पणीहरू