आमाको नाम जब एमालेको मञ्चमा छुटाइयो

आमाको नाम जब एमालेको मञ्चमा छुटाइयो

कार्यक्रम सञ्चालन गर्दै गरेका सुभाष पौडेललाई सुटुक्क कानमा कसैले फुक्यो– खै, राधिका आमालाई आसन ग्रहण गराएको ? बैतडीदेखि नै दोस्रो मर्यादाक्रममा आसनग्रहणको निरन्तरता लमजुङमा भने क्रमभंग भयो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवको नाम आउँदासमेत अध्यक्ष पत्नीको नाम नआएपछि कार्यक्रम सञ्चालक तथा जिल्ला पार्टी सचिव सुभाष पौडेलको कान फुक्नुपरेको थियो । उनले सरी–सरी भन्दै राधिका शाक्यलाई आसनग्रहणनिम्ति आग्रह गरे । तर, अध्यक्ष ओलीको छेवैमा पहिले नै बसिसक्नुभएकी शाक्यले सुनेको नसुन्यै गर्नुभयो । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हकमा पनि त्यस्तै भयो । दर्शकदीर्घामा हात हल्लाउँदै निर्धारित आसनमा बसिसकेका थिए । सञ्चालकले नाम लिँदा सुनेनन् वा वास्ता गरेनन्, फेरि दोहोर्‍याउँदा फ्लोरमा समेत हाँसो छुट्यो । गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रभाव जमेपछि स्थायी कमिटी सदस्य खगराज अधिकारी शुरुमै कार्यक्रमस्थल पुगेर मञ्चपछाडि बसेका थिए । उनको उपस्थितिलाई कार्यकर्ताले खासै महत्व दिएको देखिएन । ह्वारह्वार्ती नेताहरू मञ्चतिर लम्कँदै थिए । उपाध्यक्ष रामबहादुर थापालाई ‘हाम्रो गौरवशाली पार्टी’का उपाध्यक्ष झुण्ड्याइएको विशेषण तल बस्ने कार्यकर्तालाई चित्त बुझेनछ अवसरवादीको संज्ञा दिए । 

बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवाभञ्ज्याङ्सम्म समृद्धिका लागि संकल्प यात्रा भन्दै नवौं दिन लमजुङ आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मध्यनेपाल नगरपालिकाका मेयर तथा कांग्र्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रमेशकुमार पाण्डेले उपहारसहित भव्य स्वागत गरेका थिए । ओलीले पाण्डेको राजनीतिक संस्कारबाट एमालेले पाठ सिक्नुपर्ने भन्दै प्रशंसा गरेको पाइयो । एमालेले मात्रै हैन नेपालको गुप्तचर भन्ने राष्ट्रिय अनुसन्धान विभागको टोलीले समेत मंसिर कामको महिना त्यसमा पनि विवाह–वर्तबन्ध र पुटपुटेजस्ता कार्यक्रमले मान्छेको बाक्लो उपस्थिति नहुने, अधिकतम दुई हजार हाराहारीमा नागरिक सहभागिताको अनुमान लगाएको थियो । गत निर्वाचन पनि माओवादीका देवप्रसाद गुरुङले ५ हजारभन्दा बढी मतान्तरले जित्ने उसको रिपोर्टिङ थियो । उल्टो भयो । उसैको रिपोर्टिङलाई आधार मानेर सुरक्षा व्यवस्था कमजोर पारेको भए व्यवस्थापन गर्न निकै कठिन पर्ने सुरक्षामा खटिएका एक प्रहरी अधिकृत बताउँछन् ।

सुन्दरबजार–३ सत्र सयको दूरबस्तीमा खानपानको व्यवस्था थियो । भोकले थरथर कामे पनि ओलीले खानुभएन । सुन्तला र स्याउमा भोक मेटियो । सत्र सयमै भएको रोटेपिङ खेल्न तम्सेका ओलीलाई पत्नी राधिकाले रोक्नुभएको थियो । यता, सभा आयोजकले दुई बजेसम्म अध्यक्ष ओली आउने भनेर माइकिङ गरे पनि १५ मीनेटको बाटोमै दुई घण्टा लागेको थियो । बाटोमा केटाकेटीदेखि बूढाबूढीसम्म गाडी रोकेर फूलमाला दिनेदेखि ओलीसँग सेल्फी खिच्नेले समय खर्लप्प खाइदिएपछि कार्यक्रम निकै प्रभावित बनेको थियो । 

केपी पनि मञ्चमा उक्लनु, सहभागीहरू आँखाको रमिता पेटको बिपत्ता भन्दै जुर्मुराउने भएपछि मन्तव्य निकै छोट्याउनुपर्‍यो । आधा घण्टा जति बोल्ने सुरमा देखिनुभएका ओलीले १० मीनेटजति पनि बोल्नुभएन । कार्यकर्ता तथा उपस्थित भीडले आशा गरेका कुरा केपीबाट केही आएन । उही भूकम्प जाँदा, नाकाबन्दी लाग्दा र चुच्चे नक्साको कुरा कोट्याएका ओली बोल्दै गर्दा भूकम्पपीडित कतिले जाबो तीन लाखले केही छेउ नलागेको र कतिपय जनप्रतिनिधिले पक्षपात गरेको गुनासो पोख्दै थिए । दर्जनाैँ उपस्थित केन्द्रीय नेताहरू कसैले पनि बोल्ने सेड्युल नभए पनि पृथ्वीसुब्बा गुरुङले लिखित वाचन गर्दैगर्दा बीचबीचमा अड्किएका थिए । यसै क्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले आफ्नै गाउँमा उत्पादन गरेको मह र दारको ठेकी, क्व्होलासोथरका अध्यक्ष सूर्य गुरुङले अल्लोको कम्मल र पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले राडी उपहार प्रदान गरेका थिए । 

अक्सिजनजडित एम्बुलेन्स, डाक्टर, दर्जनौँ सुरक्षाकर्मी, एकाधबाहेक सबै पदाधिकारीसहितको लावालस्करमा अन्य पदाधिकारी भने फड्के किनाराका साक्षीजस्ता मात्रै ! लगभग पाँच बजेतिर कार्यक्रमको बिट मारेर निस्कने क्रममा लागेको भीडले ठेलमठेल गर्दा व्यवस्थापन गर्न डिएसपी मीनबहादुर घलेलाई हम्मेहम्मे मात्र परेन उनको ढाडै सड्कियो । कार्यक्रममा ७/८ हजारभन्दा बेसीको उपस्थिति थियो भने केही वर्षअघि उनै केपी ओलीको हातबाट अबिर लगाएर एमाले प्रवेश गरेका सुन्दरबजारका डण्डाबहादुर सुनार कांगे्रस बनेको तीन/चार वर्ष नबित्दै पुनः एमालेमा प्रवेश गरेको भनी टीका थाप्न पुगेका थिए । 

– अञ्जनकुमार
 

टिप्पणीहरू